May 12, 2026, Tuesday
२०८३ बैशाख २९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सिरिजङ्गा लिपि संरक्षण संघर्ष समिति गठन

सिरिजङ्गा लिपि संरक्षण संघर्ष समिति गठन

बिर्तामोड । सिरिजङ्गा लिपिसम्बन्धी विवाद जारी रहेकै बेला आन्दोलनकारीहरूले आफूलाई थप संगठित बनाएका छन् । ‘किरात सिरिजङ्गा लिपि समायोजनसम्बन्धी विज्ञ कार्यदल’को प्रतिवेदनप्रति असहमतहरूले आन्दोलन चर्काउन सिरिजङ्गा लिपि संरक्षण संघर्ष समिति समेत गठन गरेका छन् ।

सोमबार झापाको बिर्तामोडमा आयोजित भाषिक, सामाजिक एवम् राजनीतिक अभियन्ताहरूको भेलाले संघर्ष समिति घोषणा गरेको थियो । सिरिजङ्गा लिपि एवम् याक्थुङ भाषाका अध्येता आर. बी. याक्थुङ चुमको संयोजकत्वमा २७ सदस्यीय संघर्ष समिति गठन भएको छ । समितिको सहसंयोजकमा मुन्धुमविद् लक्ष्मण मेन्याङ्वो रहेका छन् । त्यस्तै, सदस्यहरूमा पदम चेन्जी माबो, योवाहाङ तुम्बाहाङ्फे, फक्ताङलुङ फोबा(ललित) जगतबहादुर योङहाङ, भुपेन्द्र माबो, विशाल साँबा, डिकध्वज लाओती(हिलीहाङ), पेली माबोहाङ, सैलेन मेन्याङ्वो, सुजन बेघा, काजीमान पालुङ्वा, डिल्लीप्रकाश माबो, देव इजम, अमृता थाम्सुहाङ, कुलबहादुर थलङ, टेकमान जवेगू, नारदमणि काम्बाङ, दिनेश माबो, पन्ना आङ्बो, शशीकला काङ्भा, आदाङ्बे सम्बाहाङ्फे, सन्तकुमार थङ्गम्बा, ललित इजम, मिलन माबो र भुपेन्द्र सिंथेबे रहेका छन् । त्यस्तै, सल्लाहकार समितिहरूमा लिम्बुवान आन्दोनलका नेता एवम् याक्थुङ भाषाका सर्जक वीर नेम्बाङ, नेता सञ्जुहाङ पालुङ्वा र सँस्कृतिकर्मी मित्र लिङ्देन रहेका छन् ।

Advertisement

कार्यक्रममा बोल्दै नेता पालुङ्वाले सिरिजङ्गा लिपिको नाम परिवर्तन र थपिएको वर्णमालाप्रति तीव्र असहमति रहेको बताए । त्यस्तै, लालीगुराँस नगरपालिकाका मेयर एवम् याक्थुङ मुन्धुम र इतिहासका खोजकर्ता अर्जुनबाबु माबुहाङले लिम्बुवानको याङ्वरक थुममा जन्मिएका सिरिजङ्गा सिं थेबेको सिरिजङ्गा लिपिको विकास, उत्थान र प्रचारमा अतुलनीय योगदान रहेको बताए ।
किरात समन्वय समितिमा सम्मिलित किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, किरात सुनुवार सेवा समाज, किरात याक्खा छुम्माबाट प्रतिनिधित्व गर्ने नौ विज्ञहरू रहेको कार्यदलले २०७८ असोज ११ गतेपछि समायोजनको कार्य थालेको थियो । कार्यदलले लिपिको नाम ‘किरात सिरिजङ्गा लिपि’ राख्ने निर्णय गर्दै २५ व्यञ्जन वर्णलाई ४८ पु¥याएर र १२ स्वर वर्ण रहेको वर्णमाला पुस २७ गते किरात समन्वय समितिलाई जिम्मा लाएको थियो । कार्यदलले राई जातिको २९ वटा भाषाहरू, याक्थुङ लिम्बु, याक्खा, सुनुवार, हायू, जिरेल, सुरेल र थामी गरी ३६ भाषीहरूलाई थपिएका संकेतहरूले लिपि लेखनमा सहज हुने दाबी गर्दै आएको छ ।

प्रस्तावित ‘किरात सिरिजङ्गा लिपि’को वर्णमाला ।

गत माघ एक गते प्रस्तावित वर्णमाला सार्वजनिक हुने जानकारी पाएपछि देश विदेशमा रहेका सिरिजङ्गा लिपि र पुरानो वर्णमालाका पक्षधरहरूले भाषिक विसंगति बढ्ने र सहिद सिरिजङ्गाको अपमान हुने भन्दै विरोध जनाएका थिए । विरोधका क्रममा दर्जन बढी संघसंस्थाहरूले विज्ञप्ति निकाल्नेदेखि लिएर प्रतिवेदनको प्रतिलिपि जलाउनेसम्मको कार्य भएका छन् । पछिल्लो समय थपिएको वर्णमाला र नामबारे प्राज्ञिक छलफल पनि सुरु भएपनि कार्यदल र विरोधी पक्षबीच दोहोरो संवाद हुन सकेको छैन । आन्दोलनरत पक्षले प्रतिवेदन फिर्ता नलिए लिपिको स्वामित्वका लागि कानूनी उपचारसम्ममा जाने बताउँदै आएको छ ।