April 24, 2024, Wednesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘सिरिजङगा अवतारी थिएनन् एउटै थिए’ याक्थुङ लिम्बुहरुको लिपि विवाद नयाँ मोडमा

‘सिरिजङगा अवतारी थिएनन् एउटै थिए’ याक्थुङ लिम्बुहरुको लिपि विवाद नयाँ मोडमा

धरान । याक्थुङ लिम्बु याक्थुङ प्राज्ञिक क्षेत्रमा मौलाएको सिरिजङगा लिपिको विवादले नयाँ मोड लिएको छ । लिम्बु भाषा लेखीने उक्त लिपि ३०० सय वर्ष अघि सिरिजङगाले सिर्जना गरेको मानिएको छ । अहिले सम्म तेयङसी सिरिजङगाले प्रवद्र्धन मात्र गरेको मानिदै आएकोमा, सिरिजङगाको कुनै अवतार भएको थिएन । उनि एउटै थिए र उनैले लिपिको सिर्जना गरेको दाबी गरिएपछि विवादले नयाँ मोड लिएको हो ।

याक्थुङ लिम्बु भाषामा तेयङसीको अर्थ अवतारी हुन्छ । लिपि आविस्कार राजा सिरिजङगाले गरेको र पछि उनको अर्को अवतार सिरिजङगाले प्रवर्घन गरेको इतिहासकारहरुले दोहो¥याउँदै आएका छन् । धरानमा विहीवार विमोचन गरिएको पुस्तक सिरिजङगा, फाल्गुनन्द र इमानसिंह चेम्जोङका लेखोट’ पुस्तकमा अहिले सम्मको इतिहास गलत भएको उदाहरणहरु प्रस्तुत गरिएको छ । पुस्तकका लेखक तथा संकलकव्दय अर्जुबाबु मावुहाङ र अमित थेवे मिहाङ हुन् ।

Advertisement

विमोचित पुस्तकको आवरण ।

पुस्तकमा हडसन पाण्डुलिपिको खण्ड ७९, ८६, ८८ का पत्रहरूमा सिरिजङगा आफैंले याक्थुङहरूको साप्ला भाषा लिपि बनाएको निकालेको उल्लेख छ । सिरिजंगालेनै बाह्रखरी अभ्यास गरेका पत्रहरू भेटिएको छ । पत्रहरूमा सिरिजङ्गाले उतिबेलाको याक्थुङ समाज, इतिहास र राजनीतिक व्यवस्थाबारे लेखेका उद्धरणहरु दिइएको छ । पाण्डूलिपिहरुमा याक्थुङ भाषा र सिरिजङ्गाका लिपिमा मात्र लेखिएका यस्ता पत्रहरूमा सिरिजङ्गाले आफू ससुवा लिलिम याक्थुङहाङको सन्तानले मुबोक्वामा (तागेरा निङवाफुमामाङ/देव) बाट पुस्तक भेटेको, बनाएको र लेख्न सिकेको लेखेको पाइन्छ । लेखोटहरूमा मुन्धुम र खाहुनहरू भेटिन्छन् । मुन्धुममा जून, घाम, आकाश, पानी, पशुपक्षी, रूखपात, मनुष्यको उत्पतिको चर्चा छ । उनले पशुपक्षीको उत्पत्ति पुःधामलुङमा र साधामलुङमा भनेर ताप्लेजुङ मिवाखोला र तमोरखोलाको शिरमा पर्ने इङ्लेक्पा पहाडको फेदीलाई भनिएको कुराहरु पुस्तकमा उल्लेख छ ।

हज्सन पाण्डुलिपि ।

सिरिजङगा लिपिका बारेमा अहिले सम्मको इतिहासमा राजा सिरिजङगाले सिर्जना गरेको लिपिलाई उनको अवतारले प्रवद्र्धन गरिएको भनिएतापनि राजा सिरिजङगाको विषयमा कुनै इतिहास भने पाइन्न । सिरिजङगा जन्म ताप्लेजुङ जिल्लाको याङरुपथुमको सिनाम–तेल्लोकमा लिम्बू सिंथेबे परिवारमा भएको थियो । सिंथेबे वंशावली संकलन गरिरहेका झापा, दमकका ८१ वर्षिय दुर्गबहादुर सिंथेबेका अनुसार, साम्मिकिहाङको सोह्र पुस्तामुनि तान्छोहाङ र उनीदेखि पनि सात पुस्तामुनि पारुजङगा थिए । पारुजङ्गा र पुधाहाङ्माका सन्तान धनहाङ, सिरिजङ्गा र एक छोरी लाःइनहाङ्मा थिए । तर, हाङ सिरिजङगाको इतिहास मात्र होइन किम्बदन्ती समेत अहिले सम्म पाइएको छैन् ।

पुस्तकमा इमानसिंह चेम्जोङले सिरिजंगाको जन्म र मृत्युका बारेमा उल्लेख गरेका मितिमा पनि प्रश्न उठाइएको छ । चेम्जोङ अनुसार सिरिजङको जन्म सन् १७०४ (विसं १७६१) र मृत्यु सन् १७४१ (विसं १७९८) हो । ‘हिस्ट्री अफ सिक्किम’ मा लेखिएका गोरखाका राजा ‘सिंह’ भनेर प्रतापसिंह शाहलाई भनिएको हो । सिरिजङ्गाका समकालीन प्रतापसिंह शाह देखिन्छन । प्रतापसिंह शाहको राज्यकाललाई मानेर सिरिजङगाको जन्म–मृत्युको तिथिमिति तोक्नु सान्दर्भिक हुन्छ । प्रतापसिंह शाहको मृत्यु विसं १८३४ मा भएको थियो । उनको राज्यकाल विसं १८३१ बाट सुरु भएको थियो । विसं १८३१ देखि १८३४ भित्र सिरिजङ्गाको मृत्युको तिथि मिति तोकिनुपर्ने पुस्तकमा जिकिर गरिएको र्छ । इतिहासकार चेम्जोङव्दारा सिरिजङगाको बारेमा लेखिएको इतिहासमा पहिलो सिरिजङगा र त्यसपछि पहिलो सिरिजङगाकै अवतार दोस्रो सिरिजङ्गा उल्लेख गर्नु काल्पकि कुरा भएको पुस्तकमा उल्लेख छ । यस्तो हुनमा उनमा बंगाली लेखक बाबु सरदचन्द्र दासको प्रभाव परेको उल्लेख गर्दै भनिएको छ ‘दास सन् १८८१ मा दार्जिलिङ हुँदै सिक्किमबाट ल्हासासम्मको यात्रामा निस्केका थिए । उनले सिक्किमका हिःगाउँ, कालिखोला, लिङचोमका गाउँहरू डुल्दा लिम्बूहरूले सिरिजङ्गालाई एक दैवी शक्तिका दाता र झारफुक गर्ने देवारीका रूपमा पाएको टिपोट गरेका छन । दासले सिरिजङ्गालाई बौद्धगुरु पद्मसम्भवको अवतारको रूपमा हिमालयन भुटियाको रूपमा चिनिने नवौं शताब्दीका दैवी गुणले युक्त देवाङ्सि भनेर सन् १९८८ (सन् १९०२ प.प्र.) मा प्रकाशनमा आएको ‘सेन्ट्रल ल्हासा एन्ड टिबेट’ को पृष्ठ ४ मा लेखेका छन । उनले उनै सिरिजङाले लिम्बू लिपि पनि आविष्कार गरेको लेखेको उल्लेख गर्दै दासले सिरिजङगालाई कसरी हिमालका भुटिया र नवौं शताब्दीका पद्मसम्भवका अवतार लेखे ? भनि प्रश्न गरिएको छ ।

सिरिजङको लेखोटमा ‘गेवानी लामा, उगेन पोमा’ जस्ता गुरु पद्मसम्भवलाई लगाइने उपमा थुप्रै ठाउँमा लेखेका छन । पद्मसम्भव भारतको पन्जाबको उडियानमा जन्मिएका थिए । बौद्ध साहित्यमा उडियानका महागुरुलाई ‘उगेन पोमा’ भनिन्छ । पद्मसम्भवलाई सिरिजङ्गाले गुरु मानेका छन । उनको समय सन् ७०० तिर हो । पद्मसम्भवको अवतार भनेर २०० वर्षको फरक पारेर दासले नै नवौं शताब्दीमा सिरिजङ्गाको अस्तित्व भएको अनुमान गरेको बुझिन्छ ।विमोचन कार्यक्रममा पुस्तकका लेखक अर्जुनबाबु माबुहाङले भने ‘इमानसिंह चेम्जोङको इतिहासका धेरै तथ्यहरु गलत छन् र शंसोधन आवश्यक छ ।’ उनले महागुरु फाल्गुनन्दको कालखण्डमा सिरिजङ लिपि र याक्थुङ भाषा संरक्षणमा निकै काम भएतापनि मुन्धुमलाई विगार्ने काम धेरै भएको दाबी गरे । याक्थुङ संस्कारहरुमा गरिनु पर्ने धेरै पद्धतीलाई किरात धर्मको नाममा मुन्धुम बाट हटाइएको उनले पुस्तकमा पनि उदाहरण दिएका छन् ।

प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङव्दारा विमोचन गरिएको उक्त पुस्तकका बारेमा पूर्व प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले राचक टिप्पणी गर्दै सिरिजंगा लिपिको नयाँ नामाकरण र स्वर, व्यञ्जन बर्ण बढाउने कार्य याक्थुङ भाषाको लागि कुनै अर्थ नदिने बताए । उनले भने ‘अहिलेको विवाद भाषा, लिपिको लागि होइन् राजनीतिक कारणले उत्पन्न भएको हो ।’ लिम्बु याक्थुङ समुदायको भाषा, लिपि, धर्मको बारेमा वौद्धिक कुरा बोल्दा पनि अहिले पक्ष विपक्ष बन्ने दुर्भाग्यपूर्ण अवस्था आएको बताउँदै उनले भने ‘कुनै कुरा बोले फेसबुकमा श्रध्दञ्जली आउने अवस्था छ ।’किरात याक्थुङ चुम्लुङले किरातजन्य संगठनहरु संग संयुक्त रुपमा कार्यदल गठन गरी अन्य किरात समुदायको भाषा लेख्न मिल्ने गरी २५ व्यञ्जन रहेको सिरिजङ्गा लिपि २३ थपेर ४८ को बनाइएपछि विवाद उत्पन्न भएको हो । वर्ण संख्या थप्ने र लिपिको नामाकरण किरात सिरिजङगा गरिएकोमा याक्थुङ लिम्बु जातिका अर्को संगठन युमा साम्यो महासभाले गम्भिर आपत्ति जनाएको छ ।