जसपाको सुनसरी क्षेत्रीय समिति गठन, चुनावी अभियान सुरु
धरान । आगामी बैशाख महिनामा हुन लागिरहेको चुनावलाई लक्षित गर्दै जनता समाजवादी पार्टीले चुनावी तयारी सुरु गरेको छ । पार्टीले सुनसरीमा बलियो क्षेत्र मानिएको एक नम्बर क्षेत्रमा समिति समेत गठन गरेको छ ।
मंगलबार धरानमा आयोजित कार्यक्रममा पार्टीका वरिष्ठ नेता अशोक राई एवम् केन्द्रीय नेता तथा प्रदेश एकका स्वास्थ्यमन्त्री जयराम यादवको उपस्थितिमा निर्वाचनका लागि केन्द्रित हुँदै नरेन्द्र पारघरीको अध्यक्षतामा ३३ सदस्यीय क्षेत्रीय समिति गठन गरेको छ । समितिका सदस्यहरूमा सन्तोष कुरुम्वाङ, ताजुव लिम्बु, बीना पुमा राई, प्रेम शाक्य, हेमराज जिमी, शम्भु राई, सुमन चेम्जोङ, कमला सुब्बा, सीता राई, लक्ष्मी राई, निर्वाचन राई, ब्रीषमान राई, नरकुमार लिम्बु, पर्शु मेवाहाङ राई, भगीराज चेम्जोङ, मदन तामाङ, लेखमान सुब्बा, हरिकुमार राई, शिव आङ्देम्बे, रामकाजी राई, वीरेन्द्रकुमार राई, जितकुमार राई, रामबहादुर खड्का, शिलास राई, अशो कुमार चौधरी, नरेश राई, विमल राई, जितबहादुर राई, अञ्जना राई, दिलीप राई, धनराज राई, राजु बस्नेत, रामकुमार राउत छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता राईले पार्टी विभाजनको कुरा निराधार भएको बताउँदै केही महत्वपूर्ण मुद्दामा छलफल भइरहेको बताए । उनले एमसीसीको विषयमा नेताहरूको व्यक्तिगत धारणा मात्रै आइरहेको भन्दै सिंगो पार्टीको निर्णय अइनसकेको जनाए ।
यसैगरी, प्रदेशका स्वास्थ्यमन्त्री यादवले प्रदेशको नामाकरणका लागि लिम्बु र राई समुदायबीच एकता हुनुपर्ने जनाए । उनले मधेश प्रदेशपछाडि एक नम्बर प्रदेश सांगठनिक हिसाबले बलियो भएको भन्दै ऐतिहासिक निरन्तरताका आधारमा प्रदेशको नाम लिम्बुवान किरात वा अन्य के राख्ने विषयमा सम्बन्धित भूगोलका समुदाय एक भएर आउनुपर्ने विचार राखे । कार्यक्रममा अर्का कार्यकारिणी नेता युवराज कार्कीले समेत सम्बोधन गरेका थिए ।
#जनता समाजवादी पार्टी
प्रतिकृया दिनुहोस्