April 28, 2024, Sunday
२०८१ बैशाख १७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
याक्थुङ लिम्बु जातिका थरहरुका पूर्खाबारे परिचर्चा

याक्थुङ लिम्बु जातिका थरहरुका पूर्खाबारे परिचर्चा

धरान । याक्थुङ लिम्बु जातिका थरहरुका अहिले सम्म लेखिएका बंशावलीहरुमा आआफ्नै थरका उत्पतीस्थल पुर्खाहरुको उल्लेख भएतापनि छुट्टिएको एउटै मुल पुर्खा सम्म कसैले पनि एकिन गर्न नसकेको बारेमा आज बुधवार आयोजित कार्यक्रममा लिम्बु अगुवा तुम्याहाङहरुले परिचर्चा गरेका छन् ।

याक्थुङ कुरुम्बाङ सङचुम्भोव्दारा आयोजित ‘याक्थुङ वंश एकः वंशावली अनेक’ पुस्तकको विमोचनको अवसरमा उक्त परिचर्चा भएको हो । किताब हाङजाजीत हंसपति बोलिन्द कुरुम्बाङ स्मृति प्रतिष्ठानले प्रकाशित गरेको हो । कुरुम्बाङहरुका पूर्खा हंसपति बोलिन्दकै एकथरी सन्ततिहरु पछिल्लो कालखण्डमा पाङमा थर नाममा चिनिन्छन् । पुस्तकका सम्पादक सन्तोष कुरुम्बाङ हुन् ।

Advertisement

पूर्व प्रदेश १ प्रमुख प्राडा. गोविन्दबहादुर तुम्बाहाङले भने ‘यस्तो स्थिति आउनुमा लिम्बुहरुको पहिचान दुई किसिमले बनेको देखिन्छ, पहिलो आफुले आफैलाई दिने पहिचान र अरुले दिएको पहिचान ।’ उनले पुस्तकमा संकलित वंशावली विषयका लेखहरु दुई धारमा विभाजित भएको उल्लेख गर्दै यस्तो समस्या लिम्बु याक्थुङ जाति थरगत रुपमा छुट्टिदै आउनु अघिको मुल पुर्खा सम्म नपुग्नाको कारण भएको बताए ।

उनले भने ‘पुस्तकमा किरातबाट याक्थुङ हुँदै लिम्बु भएको तर्क र याक्थुङ जाति मन्धुममा वणर्ित अहिलेको नेपालमै उत्पति भएको तर्कहरु अघि सारेका लेखहरु छन् ।’ लेखहरु खोजमुलक भएको बताउँदै लिम्बु याक्थुङ जातिका म्ुल पूर्खाको प्रामाणिक आधार सहित अस्तित्व रहेको इतिहास उल्लेख नभएको स्पष्ट गरे ।

उनका अनुसार पुस्तकको लेखमा डा.कमल तिगेलाले किरातबाट याक्थुङ र त्यसबाट लिम्बु भएको भनेका छन् । अर्जुनबाबु माबुहाङ र आइत खजुमले याक्थुङ जातिको उत्पति र विकासको कुराको खोजी गर्न मन्धुमबाट बाहिर गएमा त्यो कपोलकल्पित हुने स्पष्ट गरेको प्राडा तुम्बाहाङले बताए ।

कुरुम्बाङकै सन्तति छुट्टिएर आफुलाई पाङमा भन्न थालेको कुरा अरुले दिएको पहिचान भएको बताउँदै उनले भनेको अलग्गै डाँडा हो ।’ डाँडामा बस्नेहरुलाई अरुले पाङमा बस्ने भने पनि त्यही पहिचानलाई ग्रहण गरेर आफुलाई पाङमाली भन्दै थरै पाङमा भन्न थालेको प्राडा. तुम्बाहाङले दाबी गरे ।

उनका अनुसार हाङजाजीत हंसपति बोलिन्दका सन्तातीलाई पिताको मृत्यु भएपछि आमाले मावली लिएर गएकि थिइन् । माइतीले उनिहरुको बसोबासको लागि ‘पाङमा’ दिएको हो । उनिहरु त्यहीँ हुर्किए । पछि कुरुम्बाङहरु दाजुभाई खोज्दै त्यहाँ पुग्दा अंश खोज्न आएको भन्ठानी उनिहरुलाई तिरस्कार गर्दै ‘हामी कुरुम्बाङ होइनौं पाङमाली हौं’ भनेर फर्काएका हुन् । तुम्बाहाङले भने ‘यो इतिहासले पचास वर्ष अघिको हो ।’

पुस्तकमा कुरुम्बाङ र पाङमा एउटै पुर्खाको सन्तती भएको बारेमा हर्क कुरुम्बाङ, टिकाराम कुरुम्बाङ, पूर्ण कुरुम्बाङ, सन्तोष कुरुम्बाङ, सुवाश कुरुम्बाङले खोजमुलक ऐतिहासीक तथ्यहरु उल्लेख गरेका छन् । कार्यक्रमको सभापतित्व गरेका याक्थुङ कुरुम्बाङ सङचुम्भा सुनसरीका अध्यक्ष हर्कराज कुरुम्बाङले पाङमा वास्तविक रुपमा कुरुम्बाङ भएकाले वंशावलीमा एकिकरण आव्हान गरे ।

धरान प्रज्ञा प्रतिष्ठानका अध्यक्ष अम्बिका सम्बाहाम्फेले लिम्बुका थरहरु अप्रभंश हुने क्रम बढ्दै गएको बताए । यस्तो स्थितिले पछिल्लो पुस्तामा एउटै थर विभिन्न थरीको रुपमा बुझिने जोखिम बढेको उनको भनाई थियो । सङबाहाम्फे भनेको लिम्बु भाषामा नयाँ घरमा बस्ने भनिएको हो । अहिले सम्बाहाङफे अप्रभंंश भएको छ । तुम्बाहाङफे भनेको पुरानो घरमा बस्ने भनिएको हो । अहिले तुम्बाहाम्फे भन्न थालिएको सम्बाहाम्फेले बताए ।

पुस्तकका बोरमा पत्रकार प्रदिप मेयाङले टिप्पणी गरेका थिए । सन्तोष कुरुम्बाङले पुस्तक विशेषत अहिले सम्मका बंशावली लेखनका स्वरुप, अब गरिनुपर्ने सुधार र कुरुम्बाङ-पाङमा थरका तथ्यका विषय बहसमा ल्याउन प्रकाशित गरिएको बताए । धरान-१० ड्रिमल्याण्डमा भएको कार्यक्रममा युमा साम्यो महासभाका महासचिव डा.रमेश इजम, हर्ष सुब्बा लगायतले वंशावलीको महत्वका बारेमा आफ्नो धारणा प्रकट गरेका थिए ।