April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
विजय हितानको मगर रिन्हाक विमोचित

विजय हितानको मगर रिन्हाक विमोचित

काठमाडौँ । साहित्यकार विजय हितानद्वारा लिखित मगर रिन्हाक पुस्तकलाई नेपाल मगर लेखक संघद्वारा नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक समारोहमा प्रमुख अतिथि डा. मीन श्रीसबाट विमोचन गरिएको छ । विमोचन समारोहमा सबै समीक्षक र वक्ताहरूले उक्त पुस्तक एक दस्तावेजको रूपमा ऐतिहासिक बन्ने निचोड निकालेका छन् ।

विजय हितानका शुभचिन्तक र नेपाली साहित्यमा कलम चलाउँदै आएका विभिन्न स्रष्ठाहरूको बाक्लो उपस्थिति रहेको सो विमोचन कार्यक्रमको सभापतित्व नेपाल मगर लेखक संघका अध्यक्ष डा. विष्णु सिङ्जालीले गरेका थिए भने विशेष अतिथिको आतिथ्य प्राज्ञ श्रवण मुकारुङ र नेपाल मगर संघकी उपाध्यक्ष गङ्गा खासु गरेका थिए । पुस्तकको समीक्षा साहित्यकार भावेश भुमरी र लेखक अनिता पुनले गरेका थिए ।

Advertisement

अनिता पुनले विजय हितानको लेखकीय क्षमता र पुस्तकमा रहेका विभिन्न लेखरचनाका बारेमा समीक्षा गरेकी थिइन् । विजयले आफ्नो समय सामाजिक कार्य र लेखनमा लगाएको भन्दै अनिताले यस पुस्तकले मगर समाजका लागि अत्यन्त महत्वपूर्ण अर्थ राख्ने कुरा व्यक्त गरिन् । उनले यसरी नै मगर संस्कृति, भाषा र अन्य क्षेत्रमा पुस्तकहरू ल्ेखिनुपर्ने कुरामा जोड दिइन् ।

साहित्यकार भावेश भुमरीले पुस्तकको समीक्षा गर्दै आफू पठनलाई भन्दा मनोरञ्जनलाई बढी महत्व दिने मगर समाजबाटै आएको र लेखन कार्यमा लाग्दा निक्कै सङ्घर्ष गर्नुपरेको कुरा उल्लेख गरे । उनले विजय हितान अनि अन्य मगर साहित्यकारहरूको सङ्ख्यामा विस्तारै वृद्धि भएको भन्दै आउँदा दिनमा शैक्षिक र सिर्जनात्मक चेतबाटै समाजमा परिवर्तन ल्याउन सकिने हुँदा मगर समाजमा शिक्षा र सिर्जनाप्रतिको लगावमा ध्यान दिनुपर्ने कुरामा जोड दिए । उनले हितान साहित्यकार मात्र नभई बेलायतजस्तो सम्पन्न देशमा बसेर पनि हरेक दिन नेपाल र नेपालीका लागि केही गर्नुपर्छ भन्ने समाजसेवी भएको कुरामा प्रकाश पारे । भाषासम्पादनका क्रममा यो पुस्तक धेरैपटक पढेको र यसले विशेषतः मगर जातिका लागि दस्तावेजको रूपमा महत्वपूर्ण बन्ने विचार राखे । मगरहरूले ऐतिहासिक समयदेखि नै आफ्ना कुरालाई दस्तावेजको रूपमा लिपिबद्ध नगरेकै कारण यो जाति पछि परेको कुरा स्मरण गर्दै भुमरीले अब मगहरूले आफ्ना कुराहरूलाई हितानले जस्तै लिपबिद्ध गर्नुपर्ने कुरामा जोड दिए ।

विमोचन समारोहलाई सम्बोधन गर्दै पुस्तकका लेखक विजय हितानले आफूले ठूलो उद्देश्य लिएर यो पुस्तक नलेखेको भन्दै आफूले अध्ययन गरेका, देखेका मात्र नभई कार्यमा संलग्न भएका राम्रा कुराहरूलाई लिपिबद्ध गरेको कुरा राखे । उनले आफूले बेलायती सेनामा लागेर धेरैवर्ष बन्दुक समाएको र अवकाशपछि मूलतः कलम समाउने कार्यमा लाग्दै यो ठाउँसम्म आएको कुरा प्रष्ट्याए । विशेष रूपले कलमको शक्ति निक्कै बलियो हुने भन्दै उनले यस शक्तिबाट नै समाजमा परिवर्तन ल्याउन सकिने कुरा व्यक्त गरे ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि गङ्गा खासुले एकदमै थोरै मगरहरू मात्र लेखन कार्यमा लागेको अवस्थामा अब मगरहरू यस क्षेत्रबाट पनि अगाडि आउनुपर्ने कुरामा जोड दिइन् । वास्तवमा मगरहरूमा लेख्ने र पुस्तक छाप्ने संस्कार कम भएको भन्दै उनले विजय हितानजस्ता लाहुरेले कलम चलाउनु ठूलो कुरो हो भनिन् । गैरलाहुरे मगरहरूले विजय हितानबाट धेरै कुरा सिक्नुपर्नेमा पनि उनले जोड दिइन् ।

यस विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अर्का विशेष अतिति श्रवण मुकारुङले आर्यजातिको संस्कार र धर्मका रामायण, महाभारतजस्ता पुस्तक पनि कवितामै लेखिएको भन्दै लेख्ने कार्य कठिन भए पनि यसले नै सबैलाई सुसंस्कृत बनाउने कुरा प्रष्ट्याए । उनले लखन थापा, मित्रसेन, जीतबहादुर सिङ्जालीजस्ता देशले नै गर्व गर्नुपर्ने व्यक्तिहरूका बारेमा विजय हितानले जुन दस्तावेज तयार पारेका छन्, यी कुरा पचास या सय वर्षको अन्तरालमा निक्कै ठूलो प्रमाण बन्ने कुरामा जोड दिए । उनले विजय हितानले नेपाली साहित्यको क्षेत्रमा दिएको योगदानको खुलेर प्रशंसा गरे ।

कार्यक्रमका प्रमुख अतिथि डा. मीन श्रीसले लेखक विजय हितानका बुबा जयबहादुर हितानको सम्झना गर्दै २०३५ सालतिर आफ्नै गाउँमा पुगेर जयबहादुर हितानले नै स्थापना गरिदिएको मगर विद्याार्थी संघको सदस्य बनेर काम गरेकाले आफूले हितानलाई गुरु मान्दै आएको कुरा राखे । उनले अगाडि थपे, ‘विद्यार्थी संघ स्थापना र विस्तारमा जयबहादुर हितानको महत्वपूर्ण भूमिका थियो ।’ उनै गुरुका छोराले लेखेको यस्तो महत्वपूर्ण पुस्तकको विमोचन कार्यक्रमको प्रमुख अतिथि बन्ने अवसर पाउँदा आफूलाई निक्कै गर्व महसुस भएको भन्दै उनले यो पुस्तक भविष्यमा महत्वपूर्ण र ऐतिहासिक दस्तावेज बन्ने कुरामा जोड दिए ।

कार्यक्रमका सभापति डा. विष्णु सिङ्जालीले मगरहरूको ज्ञान निर्माणमा मगर लाहुरे, सरकारी जागिरे र शिक्षकहरूले लेख्न जरुरी छ भन्दै अबको समयलाई हरेक कुराको दस्तावेज आवश्यक भएको विचार राखे । वास्तवमा स्नातक या सोभन्दा माथि शिक्षा हासिल गरेका मगरहरूको सङ्ख्या थोरै भएको भन्दै उनले हाम्रा भाषा तथा संस्कृतिका बारेमा हामीले नै खोज, अनुसन्धान र लेखन गर्नैपर्ने कुरामा जो दिए । उनले अगाडि थपे, ‘प्राज्ञिक मगरहरूको कमीकै कारण मगर जातिका बारेमा आफैँले लेख्ने प्रचलन कमजोर रहेको हो । यस्तो अवस्थामा विजय हितानले पुस्तकहरू लेखेर मगरहरूलाई प्रेरणा दिएका छन् ।’ यस कार्यक्रमको सहजीकरण नेपाल मगर लेखक संघका महासचिव श्याम रानाले गरेका थिए ।

विगत लामो समयदेखि बेलायतमा बसोवास गर्दै निरन्तर रूपले लेखन कार्यमा लागेका विजय हितान वातावरण साहित्य लेखनका अभियन्ता हुन् । हरेक वर्ष आफ्ना कृति पाठकहरूसामु ल्याउँदै आएका हितानको मगर रिन्हाक (मगर चेतना) दशौँ कृति हो । नेपाल मगर लेखक संघ प्रकाशक रहेको यस पुस्तक बिक्रीबाट उठेको रकम मगर प्रकाशन अक्षयकोषका लागि किार्यक्रमस्थलमै हितानले सो लेखक संघलाई नै हस्तान्तरण गरे ।