April 24, 2024, Wednesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मगर संघ युकेको अध्यक्ष पदमा राम गलामी मगरले दिए उम्मेदवारी

मगर संघ युकेको अध्यक्ष पदमा राम गलामी मगरले दिए उम्मेदवारी

लन्डन । मगर संघ युकेको सातौं महाधिवेशनमा र बेलायतको नेपाली समुदायमा चिरपरिचित व्यक्तित्व राम गलामी मगरले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सेवानिवृत्त गोर्खा सैनिक गलामी मगर विगत लामो समयदेखि बेलायतमा पूर्व सैनिकलाई रोजगारी दिलाउने च्यारिटी आरएफइएमा रोजगार सल्लाहकारको रुपमा कार्यरत छन् ।

विगत लामो समय देखि बेलायतको रेडिङ्ग शहरमा बस्दै आएका गलामी मगर बेलायतमा एक सक्रिय समाजसेवीको रुपमा चिरपरिचित छन् । उनले २००५ देखि २००९ सम्म मगर संघ यूके अन्तर्गत रेडिङ्ग शाखाको अध्यक्ष पदमा रहेर सेवा गरेका थिए भने २००९ देखि हालसम्म मगर संघ यूके रेडिङ्ग शाखाको सल्लाहकारको भूमिकामा रही कार्य गर्दै आएका छन् । २००६ देखि २०१३ सम्म रेडिङ्ग गोर्खा एसोसिएशनको अध्यक्ष पदमा रहेर सेवा गरेका गलामी मगरले २००७ देखि २०१० सम्म रेडिङ्ग नेपाली समाजमा उपाध्यक्ष पदमा रहेर कार्य गरेका थिए । यसैगरी २०१० देखि २०१३ सम्म मगर संघ यूकेको केन्द्रीय कार्यकारिणी सदस्य पदमा रहेर काम गरेका उनले २०१६ देखि २०१९ सम्म गुल्मी जिल्ला समाज बेलायतको अध्यक्ष पदमा रहेर बेलायतमा रहेको नेपाली समुदायको सेवा गरे । २०१९ देखि हालसम्म मगर संघ यूके केन्द्रीय समितिमा उपाध्यक्ष पदमा रहेर सफलतापूर्वक काम गरि सके पछि गलामी मगरले आगामी कार्यकालका २०२२ देखि २०२५ सम्मका लागि मगर संघ युकेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

Advertisement

अध्यक्षको रुपमा गलामी मगरले निम्न लिखित प्रतिबद्धताहरु अगाडी सारेका छन् ।

१) मगर संघ यूकेले विगत देखि नियमित रूपमा गर्दै आएको कार्यक्रमहरू थप ब्यापक र व्यवस्थितरुपले संचालन गर्ने ।

२) मगर संघ यूकेले विगतमा थालनी गरेका कतिपय अधुरा योजनाहरूलाई पूर्णता दिने ।

३) बेलायतवासी मगर समुदायको आस्थाको केन्द्र मगर भवनलाई विस्तार र व्यवस्थित गर्नका लागि आर्थिक संकलन गर्ने ।

४) बेलायतवासी मगर समुदायको आर्थिक सामाजिक स्थितीको बारेमा तथ्याङ्क संकलन गर्ने ।

५) बेलायतबासी सम्पूर्ण मगर समुदायलाई गौरवपूर्ण संस्था मगर संघ यूकेमा संस्थागत रूपमा गोलबन्द गराउने तथा आजीवन सदस्यता वितरण कार्यलाई तीव्रता दिने ।

६) बेलायतमा हुर्किएको मगरहरुको नयाँ युवा पुस्तालाई मगर संघ यूकेमा आबद्ध गराई शाखाहरूमा समेत मगर युवा समिति गठन गरी सकृय बनाउने ।

७) मगर महिला संघसंग समन्वय गरी, मगर महिलाहरूमा थप जागरण ल्याउदै मगरहरुको जातीय उत्थानका लागि मगर संघको उद्देश्य अनुकूल कार्य गर्नका निम्ति मगर महिला संघको प्रभावकारी रुपमा संचालन गर्ने ।

८) मगरहरुको जातीय पहिचान स्थापनार्थ सशक्त रुपमा कार्य गर्ने । मगर समुदायको भाषा संस्कृतिको संरक्षण र सम्बर्धन गर्दै सर्वांगीण विकासको निम्ति नेपाल मगर संघले संचालन गर्ने अभियानहरूमा प्रभावकारी रुपमा सहकार्य गर्ने ।

९) बेलायतस्थित नेपाली समुदायको उन्नति र प्रगतिका लागि नेपाली दूतावास, एनआरएनए युके, तमु धीं युके लगायतका सामाजिक संघसंस्थाहरुसंग सहकार्य गर्ने।

आगामी कार्यकालका लागि अध्यक्षका उम्मेदवार गलामी मगरले उपरोक्त प्रतिबद्धता सहित आगामी तीन बर्षका लागि मगर संघ युकेको अध्यक्षको रुपमा मगर संघ युके र समग्र मगरजातिको उत्थानका लागि कार्य गर्न असल सारथी हुन तयार भएर आएको बताएका छन् । “म काममा मात्र विश्वास गर्ने कर्मयोगी मगर हुँ । मेरो नेतृत्वमा मगर संघ युकेले नया उचाई हासील गर्ने कुरामा विश्वास दिलाउन चाहन्छु,” भन्दै गलामी मगरले सहयोगका लागि अपिल गरेका छन् ।