March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपाली समाज बेलायतमा जिम्मेवारीहरू तोकियो

नेपाली समाज बेलायतमा जिम्मेवारीहरू तोकियो

लन्डन । नेपाली समाज बेलायतले संगठनमा थप जिम्मेवारीहरू ताेकेको छ । समाजको पहिलो विस्तारित बैठकले विभागीय जिम्मेवारीहरू ताेकेकाे हाे ।

शनिबार रिडिङस्थित एभरेष्ट तन्दुरी हलमा अध्यक्ष कमल प्रसाद राईको अध्यक्षतामा भएको बैठकमा निवर्तमान कार्य समितिबाट सम्पूर्ण स्वामित्व ग्रहण गर्नुको साथै विभिन्न विभाग र राष्ट्रिय समाज प्रमुखहरु मनोनयन गरिएको छ ।

Advertisement

विस्तारित बैठकमा सहभागी नेपाली समाज यूकेका नेताहरू । स्राेत : नेपाली समाज यूके ।

गत १३ फेब्रुवरी २०२२ आइतवार सम्पन्न दुई पार्टीहरुबीच एकता पछिको पहिलो महाधिवेशनद्धारा निर्वाचित कार्य समितिको यो दोश्रो विस्तारित बैठक हो । सचिव मिलन राईले सञ्चालन गरेको उक्त बैठकको पहिलो सत्रमा निवर्तमान अध्यक्ष चन्द्र बहादुर गुरुङले समाजको महत्वपूर्ण कागजातहरु नवनिर्वाचित अध्यक्ष कमल प्रसाद राईलाई हस्तान्तरण गरेका थिए । गुरुङले आफ्नो कार्यकालमा नेपाली जनताको हक अधिकार सुतिश्चितताको लागि पार्टीले गरेको आन्दोलनको लागी नेपाली समाज वेलायतको तर्फबाट सक्दो सहयोग गरिएको धारणा राखेका थिए । नेपालको राजनितिक परिस्थिति जटिल अवस्थामा रहेकोले अझै पनि दबावमूलक आन्दोलनको आवश्यक्ता रहेको उनले बताए । साथै वर्तमान कार्य समितिको आगामि कार्य सफलताको शुभकामना व्यक्त गरेका थिए । त्यसैगरी, निवर्तमान कोषाध्यक्ष राजेन्द्र नाल्वो लिम्बुले कोषाध्यक्ष बिनोद कुमार राईलाई कोषको कागजातहरु बुझाएका थिए ।

बैठकले कार्यकारिणी समिति गठन, ११ सदस्यीय राजनितिक समिति र १९ सदस्यीय सल्लाहाकार समिति साथै ७ सदस्यीय विज्ञ परिषद गठन गरेको छ । विधानमा ३५ सदस्यीय केन्द्रीय समिति गठन हुने व्यवस्था गरेको छ भने महाधिवेशनले २२ सदस्यीय कार्य समिति निर्वाचन गरेको छ त्यसैले आसन्न बैठकले ९ सदस्यहरु मनोनयन गरी ३१ सदस्यीय समिति भएको सहसचिव एवम् प्रवक्ता तेज माबाे लिम्बुले जनाए ।

प्रवक्ता माबाेका अनुसार विभागीय जिम्मेवारीअन्तर्गत विधान तथा अनुशासन समिति प्रमुखमा वल्लभ गुरुङ, सँस्कृति तथा मनोरञ्जन प्रमुखमा हुमकुमारी गुरुङ, जनसम्पर्क समिति प्रमुखमा सुमित्रा राई, युवा तथा स्वयंसेवक प्रमुखमा युमा लिम्बु, प्रशिक्षण विभाग प्रमुखमा विजय लिम्बु, संगठन विभाग प्रमुखमा मिलनचन्द्र राई , सचिवालय सचिव तथा प्रवक्तामा तेज माबाे लिम्बु, प्रचार-प्रसार र प्रकाशन प्रमुखमा विनाेद पुमा राई र शुभचन्द्र राई लगायत लेखा समितिका संयोजकहरू तोकिएका छन् ।

नेपालको संविधानमा संघीय राज्यको व्यवस्था गरेको भए पनि जनता समाजवादी पार्टी नेपालको विधान २०७७ को धारा ३९ को उपधारा ४ ‘ग’ अनुसार पहिचानमा आधारित १० प्लस १ को राष्ट्रिय समितिको अवधारणालाई बल पुर्‍याउन प्रवास संगठनहरुले पनि राष्ट्रिय समितिको निर्माण गरी विभिन्न समिति संयोजकहरु बैठकले तोकेको छ । किरात समाज, लिम्बुवान समाज, तमुवान समाज युके तोकिएका छन् । अन्य राष्ट्रिय समिति संयोजकहरु आगामी बैठकले निर्णय गर्ने रहेको छ । नेपालमा यो समितिहरुलाई राष्ट्रीय समिति भनिन्छ । साेहीअनुसार प्रवासमा पनि समाज रहनेछन् ।

बैठकको अन्तमा निवर्तमान कार्य समितिलाई सम्मानका साथ बिदाई गरिएकाे थियोे । साे अवसरमा निवर्तमान अध्यक्ष चन्द्र बहादुर गुरुङलाई नवनियुक्त अध्यक्ष कमल प्रसाद राईले दोसल्ला ओढाई सम्मान गरेका थिए । प्रमुख अतिथि संघीय परिषद सदस्य तथा पूर्व उपाध्यक्ष जङ्ग बहादुर सुनुवारद्धारा कदर पत्र र सल्लाहकार धर्मराज गुरुङद्धारा मायाको चिनो साथै रिडिङ समिति अध्यक्षद्धारा फूल र अन्य सबैले खादा लगाई सम्मान व्यक्त गरिएका थिए ।
अध्यक्ष राईले बाँकी रहेका कामहरु पूरा गर्ने सङ्कल्पका साथै आफ्नो कार्य योजनाहरु लागू गर्दै जाने र संगठनको हितका लागि काम गर्न उपस्थित सबैलाई आग्रह गरेका थिए । उनले समाजले नेपालमा हुन लागिरहेको स्थानीय निर्वाचनका लागि प्रवासबाट सक्दो सहयोग समेत गर्ने बताए ।

निवर्तमान अध्यक्ष चन्द्र गुरुङ आफ्नो धारणा राख्दै । तस्वीर स्राेत : नेपाली समाज यूके ।