April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एक जसपा केन्द्रीय सदस्य तथा पूर्व माओवादी सांसद चौधरीसहित दुई दर्जन माओवादी केन्द्रमा समाहित

एक जसपा केन्द्रीय सदस्य तथा पूर्व माओवादी सांसद चौधरीसहित दुई दर्जन माओवादी केन्द्रमा समाहित

काठमाडौं । जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा पूर्व माओवादी सांसद कृष्णकुमार चौधरी नेकपा माओवादी केन्द्रमा समाहित भएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आयोजित एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उनीहरुलाई स्वागत गरेका हुन् ।

Advertisement

चौधरीसहित जसपा केन्द्रीय सदस्य पशुपति चौधरी, माया नेगी, केन्द्रीय परिषद सदस्य तथा सहिद परिवार गंगा चौधरी, युवा परिषद केन्द्रीय सदस्य करण साउद लगायतका नेता कार्यकर्ताहरु माओवादीमा समाहित भएका हुन् ।

एमाले छाडी माओवादीमा

त्यसैगरी सोही कार्यक्रममा सोलुखुम्बु सोताङका एमालेका युवा नेताहरु विश्वकिर्तीमानी तथा नेकपा एमाले सोताङ गाउँ पार्टी कमिटिका सदस्य, पूर्व सोलु काठमाडौं सम्पर्क समिति सचिवालय सदस्य बुद्धिराज नाछिरिङको नेतृत्वमा मदन नाछिरिङसहित एक दर्जन युवाहरु एमाले छाडी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । त्यसैगरी सोलुखुम्बुका पुराना कांग्रेस कार्यकर्ता दशबिर राईलगायतका युवाहरुपनि नेपाली कांग्रेस परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले यो प्रवेशको महत्व देशव्यपा हुने र यसले अन्य पार्टीमा छरिएर रहेका इमान्दार कार्यकर्ताहरु र माओवादी छाडेर बाटो बिराएकाहरुलाई पनि एक ठाउँमा आउने सन्देश दिने बताए ।

उनले कैलालीका कृष्ण चौधरीले माओवादी छाड्दा दु:ख लागेको र अहिले फर्केर आफ्नै घर आउँदा खुशी लागेको बताउँदै उचित जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गरे । उनले नेताहरु पार्टीमा फर्किँदा सुदूरपश्चिममा प्रत्यक्ष प्रभाव पर्ने बताए । विप्लवतिर गएका केही केन्द्रीय नेताहरु पनि आजै आउने जानकारी दिँदै प्रचण्डले भने, ‘अब कैलालीमा २०६४ को नतिजा नजिक पुगिन्छ भन्नेमा विश्वस्त भएको छु ।’

कृष्ण चौधरी ०४७ देखि नेकपा एमालेको राजनीतिमा सक्रिय रहेका र ०५६ मा तत्कालीन नेकपा माओवादीमा प्रवेश गरेका थिए । ०५८ देखि माओवादीमा पूर्णकालीन बनेका उनी ०६४ सालको संविधानसभा निर्वाचनमा कैलालीबाट २१ हजार बढी मतका साथ प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।

चौधरी डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी हुँदै जसपाको केन्द्रीय सदस्य बनेका थिए ।

बाटो विराएर गएकालाई माओवादी केन्द्रमा फर्कन प्रचण्डको आव्हान

नेकपा माओवादीका अध्यक्ष एवम् गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न कारण र समयमा बाटो बिराएर माओवादी छाडेर गएकाहरुलाई मूल पार्टी माओवादी केन्द्रमा फर्कन आव्हान गरेका छन् ।

पार्टी मुख्यालयमा आयोजित पार्टी समायाेजन र प्रवेश कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले माओवादीले उठाएको एजेण्डामै देश हिँडिरहेको र पार्टी एजेण्डा नै स्थापित हुँदै गइरहेकाले शान्ति र विकासको लागि माओवादी नै एक मात्रै विकल्प भएकाले यही पार्टीमा फर्किन आव्हान गरेका हुन् । उनले माओवादीमा आएको फुट र विखण्डनले प्रतिक्रियावादी र परिवर्तन विरोधीशक्तिहरु खुशी हुने भएकाले माओवादी शक्ति र घटकहरुको एकता आवश्यक भएको बताए । उनले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिकता र सामाजिक न्याय र समानताका एजेण्डाहरु माओवादीले ल्याएकोले यसलाई उल्टाउन प्रतिक्रियावादीहरु मरिहत्ते गरेर लागेको बताए ।

प्रचण्डले स्थानीय निर्वाचनको मुखमा पार्टी प्रवेश गर्नु एउटा लडाइँमा सगर्व उपस्थित हुने जस्तो भएकाले यतिबेला पार्टीमा प्रवेश गर्नेहरुलाई विशेष मूल्यांकन गरिने जनाए ।

उनले मोहन वैद्य, बाबुराम भट्टराई, नेत्र विक्रम चन्द, गोपाल किराँतीहरुको नाम नलिए पनि लक्षित गर्दै जुन अवस्थामा रहेको भएतापनि मूल घर माओवादीमै फर्किनु नै राम्रो हुने बताए ।