April 23, 2024, Tuesday
२०८१ बैशाख ११, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
केलाङ सिकाउँदै युवा चुम्लुङकर्मीहरू

केलाङ सिकाउँदै युवा चुम्लुङकर्मीहरू


आसफाेर्ड(केन्ट) । बेलायतमा याक्थुङ लिम्बु समुदायको बाक्लाे वस्ती रहेको केन्टकाे आसफाेर्डमा परम्परागत नृत्य केलाङ(च्याब्रुङ नाच) अब विस्तार हुने भएको छ । युवा कलाकारहरूकाे विशेष सक्रियतामा समुदायको लाेकप्रिय साँस्कृतिक नृत्यलाई अझ व्यापक बनाउन नियमित प्रशिक्षण हुने भएको छ ।

समुदायको जातीय सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ यूकेकाे आसफाेर्ड शाखाकाे साँस्कृतिक विभागकाे आयाेजनामा आइतबारबाट साप्ताहिक रूपमा केलाङ प्रशिक्षणमा हुँदैछ । याक्थुङ लिम्बु समुदायकाे परम्परागत बाजालाई के(च्याब्रुङ) भनिन्छ । त्यस्तै, नाचलाई केलाङ(च्याब्रुङ नाच) भनिन्छ । याे नृत्य विशेषगरी विवाह, चाडपर्व, घरपैचाे, अतिथि सत्कार, मेला उत्सव र अन्य साँस्कृतिक अवसरहरूमा नाच्ने गरिन्छ । यस नृत्यमा फेदाप्पे, चाैबिसे, पान्थरे, तम्मरखाेले, चारखाेले र सिक्किमका शैलीहरू चर्चित छन् । यी प्रकारका तालका आधारमा कसरक्पा/कुसरक्पा या खसरक्पा भनेर चिनिन्छ ।

Advertisement

कियाचु यूके आसफाेर्डले नगरमा रहेका पुराना केलाङकर्मीहरूलाई सङ्गठित गर्न र नयाँ पुस्तालाई आफ्नो माैलिक जातीय सँस्कृतितर्फ आकर्षित गर्न नियमित रूपमा केलाङ तालिम राख्न लागेको साँस्कृतिक विभाग प्रमुख शिखरमा सम्बाहाङ्फेले बताए । ‘केलाङमा युवाहरूकाे थप आकर्षण हाेस् र नयाँ पुस्ताहरू समेटिऊन् भनेर तालिम राख्न लागेको हाे,’ उनले भने, ‘याे तालिमले नयाँ कलाकारहरू जन्मिने आशा गरेका छाैँ ।’ उनले आसफाेर्ड नगरमा रहेका याक्थुङ र सबै गैरयाक्थुङ समुदायका बालबालिका, किशाेरकिशोरी, युवा र अभिभावकहरूलाई तालिममा सहभागी हुन समेत आग्रह गरे । तालिम केलाङ नाच्दै आएका पुराना कलाकारहरूले प्रशिक्षण दिनेछन् ।

युवा केलाङकर्मीहरू । फाेटाे : कियाचु आसफाेर्ड

मे १५ आइतबार आसफाेर्डकाे सिङ्गलटन भिलेज हलमा दिउँसो २ बजेदेखि ५ बजेसम्म नि:शुल्क रूपमा तालिम हुन लागिरहेको विभागका उपप्रमुख गाेकुल लिवाङले जनाए । ‘माैलिक सँस्कृतिलाई माया गर्नुहुनेहरू सबै आउनु हाेला । हामी पुराना र नयाँ केलाङ पुस्तालाई जाेड्न चाहन्छाैँ,’ लिवाङले जाेड दिँदै भने, ‘भाषा, सँस्कृति, संस्कार रहेमा मात्रै हाम्राे अस्तित्व रहनेछ । यसकारण पुस्तान्तरणकाे प्रक्रियामा साथ दिन सबैलाई अनुरोध गर्दछु ।’ उनी एक दशकदेखि केलाङ नाच्दै आएका छन् । पूर्व गाेरखा सैनिक रहेका उनका बुवा गाेपीलाल लिवाङ समेत ब्रुनाई हुँदै यूकेसम्म आइपुग्दा केलाङलाई विस्तार गर्न लागिपरे ।

चर्चित ब्रिटिस अभिनेत्री जाेआन्ना लुम्लेसँग फाेक्सटाेनमा युवाहरू । फाेटाे : कियाचु आसफाेर्ड

करिब ११ वर्षदेखि किशाेरावस्थामा रहँदै केलाङ नाच्न थालेकी निसुमा मुसाहाङले पनि नयाँ पुस्ताका लागि भनेर तालिम राखेकाे बताइन् । उनीसँगै नाच्न थालेकी सिक्कुम हुक्पा चाेङवाङले नयाँ अनुहारहरूकाे आवश्यकता महसुस गरेर केलाङका लागि विशेष समय छुट्टयाएको जनाइन् । कियाचु आसफाेर्ड शाखा अध्यक्ष साेदीप थाेप्राले नगरमा रहेका समुदायका नयाँ पुस्तालाई समेट्न समितिले सक्दाे सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘माैलिक सँस्कृति जाेगाउन र यसकाे प्रचारप्रसार गर्न हामी सबै किसिमको सहयोग गर्न तयार छाैँ,’ उनले भने ।

सन् २०१९ काे जुलाईमा मेडस्टाेनकाे याल्डिङमा रहेको चुम्लुङ देनमा आयाेजित सिसेक्पा तङ्नाममा भएको केलाङ प्रतियोगितामा उपाधि जितेपछि आसफाेर्ड केलाङ समूह । तस्वीर : कियाचु आसफाेर्ड

सन् २०११ काे अगष्ट २९ मा स्थापना भएको चुम्लुङ आसफाेर्डकाे केलाङ समूहले सन् २०१७२०१९ मा यूकेव्यापी केलाङ प्रतियोगिताकाे उपाधि जितेको थियोे । कियाचु यूकेकाे केन्द्रीय समितिले प्रत्येक वर्ष समुदायको विशेष पर्व सिसेक्पा तङ्नाम(साउने संक्रान्ति) का अवसरमा आयाेजना गर्ने केलाङ प्रतिस्पर्धामा यूकेभरका शाखा चुम्लुङहरूले सहभागिता जनाउँछन् । जहाँ यूकेमै हुर्केका युवा पुस्ताहरूकाे विशेष आकर्षण रहने गर्छ । यूकेमा १६ शाखाहरू रहेका छन् । यस साल काेराेना महामारीका कारण तीन वर्षपश्चात् जुलाई १६ तारिखमा सिसेक्पा तङ्नाम साँस्कृतिक उत्सव हुँदैछ ।