April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अस्ताए याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला

अस्ताए याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला

विजयपुर । सिक्किमनिवासी याक्थुङ लिम्बु भाषा र सिरिजङ्गा लिपिका प्रवर्तक बिर्खबहादुर(बीबी) मुरिङ्लाकाे ८० वर्षको उमेरमा निधन भएको छ । बुधबार अपराह्न न्यू एसटीएनएम अस्पतालमा मुरिङ्लाकाे निधन भएको हाे ।

सन् १९४२ मा लिम्चाेममा जन्मिएका मुरिङ्लाकाे निधन मस्तिष्कमा भएको रक्तस्रावका कारण भएको अस्पतालले जनाएको छ । सन् २०१७ मा याक्थुङ भाषा र लिपिकाे विकास र प्रबर्द्धनमा उल्लेखनीय याेगदान दिएबापत भारत सरकारले उनलाई पद्मश्री सम्मानले विभूषित गरेको थियाे । खासगरी, सिक्किममा याक्थुङ भाषा र सिरिजङ्गा लिपिकाे उच्च तहसम्मको अध्ययनका लागि उनले विशेष नेतृत्व गरेका थिए ।

Advertisement

भारतका तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीबाट राष्ट्रपति निवासमा पद्मश्री सम्मान ग्रहण गर्दै मुरिङ्ला ।

उनले टासी नामग्याल एकेडेमीमा विद्यालय तहको अध्ययन गरेका थिए । पछि दार्जिलिङ कलेज भर्ना भए । उनी सिक्किम राज्य सरकारमा मानव संशाधन विभागमा कार्यरत रही अतिरिक्त निर्देशक पदमा निवृत्त भएका थिए ।

करिब तीन दशकभन्दा बढी समय उनले भाषा र लिपिका लागि जीवन अर्पण गरे । उनले प्राथमिक तहदेखि माध्यमिक तहसम्म हातैले सिरिजङ्गा लिपिमा पुस्तक तयार पारेका थिए । उनले व्याकरणसँगै याक्थुङ-नेपाली-अङ्ग्रेजी शब्दकाेश निर्माणमा पनि विशेष सक्रियता देखाएका थिए । उनले सन् १९८२ मा लेटर प्रेसका लागि र सन् १९९२ मा कम्प्युटरका लागि याक्थुङ लिपि विकास गरेका थिए । जुन सन् २००० मा जेआर सुब्बाले सापटी लिएका थिए । उनले सन् १९५२ मा दस वर्षको उमेर छँदा इतिहासकार इमानसिं चेम्जोङलाई भेटेका थिए । उनलाई सन् २०१४ मा आसामकाे गुहावटीमा विवेकानन्द केन्द्र इन्स्टिच्युट अफ कल्चर सम्मानले पनि सम्मानित गरिएको थियोे ।

मुरिङ्लाले लेखेका ‘तुम् याक्थुङ निङ्वाफु साप्ला’ र ‘तुम् याक्थुङ निसिगेक् साप्ला’ लाई सिक्किममा भाषाकाे अध्ययनका लागि मूल स्राेत पुस्तकहरूका रूपमा मानिन्छन् । सन् १९७५ मा उनी छाेग्याल वंशकाे शासनपछिकाे समयमा याक्थुङ भाषाकाे पाण्डुलिपि लेखकका रूपमा नियुक्त भएका थिए । सिक्किममा युमा माङहिम स्थापनामा पनि उनको महत्त्वपूर्ण भूमिका रहेको थियाे ।

मुरिङ्लाकाे निधनमा सिक्किम राज्यसँगै नेपाल र विदेशमा रहेका सयाैँ भाषिक अभियन्ताहरूले दु:ख प्रकट गरेका छन् । उनको अवसानले भाषा, लिपि र साहित्यकाे क्षेत्रमा अपूरणीय क्षति पुगेको भन्दै सञ्जालहरूमा शाेक व्यक्त गरेका छन् ।