April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
लिम्बुवानबारे माबुहाङकाे अर्को पुस्तक विमाेचित

लिम्बुवानबारे माबुहाङकाे अर्को पुस्तक विमाेचित

काठमाडौँ । याक्थुङ मुन्धुम र इतिहासका खाेजकरता अर्जुनरबाबु माबुहाङ र लक्ष्मण लाओतीले लेखेको पुस्तक ‘दस लिम्बुवान सत्रथुमको नीति’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङले पुस्तक विमोचन गरेका हुन् । लालीगुराँस नगरपालिकाका मेयर समेत रहेका माबुहाङकाे याे छैटौं कृति हाे । उनले २०६३ मा समेत ‘लिम्बुवान’ पुस्तक ल्याएका थिए । लाओतीकाे भने याे पहिलो कृति हाे ।

विमाेचित पुस्तक ।

विमोचन कार्यक्रममा पूर्व प्रधानमन्त्री डा भट्टराईले देशमा संघीय गणतन्त्रात्मक शासन ब्यवस्था सुनिश्चित गर्दै संविधान जारी भएपनि विभिन्न राष्ट्रियताहरूको जगेर्ना गर्दै उनीहरूको पहिचानसहितको अधिकार दिलाउने ब्यवस्था हुन नसकेको भन्दै आफु यसका लागि दृढतापूर्वक लागिरहेको बताए । समग्रमा लिम्बु जाती भन्नासाथ ‘किराँत’ भन्ने मान्यता स्थापित रहेको भन्दै डा. भट्टराईले यो पुस्तककले लिम्बु र लिम्बुवानको परिचय र पहिचानको खोजी गर्दै त्यससँग सम्बन्धित प्रमाणहरू समेत आम मानिसको पहुँचमा पुरयाएको बताए ।

Advertisement

स्वास्थ्य राज्यमन्त्री खापुङले लिम्बु जाति र इतिहासका बारेमा धेरै नै अध्ययन र अनुसन्धान गरेर लेखिएको यो पुस्तक अति नै महत्वपूर्ण रहेको बताए । अध्येता तथा लेखक इमानसिंह चेम्जोङ र प्राध्यापक बालकृष्ण माबुहाङले यस्ता महत्वपूर्ण दस्ताबेज समेटिएको पुस्तकलाई राज्यले आफ्नो सम्पत्तिको रुपमा बैधता दिनुपर्ने बताए । लेख्ने भन्दा पनि सुनाउँदै अघि बढ्ने गरेको मुन्धुम सभ्यताका कारण लिम्बु जाती र पहिचानबारेका आधिकारीक पुस्तक पाउन कठिनाइ हुने गरेको सन्दर्भमा यो र यस्ता पुस्तकले अत्यन्तै ठूलो भूमिका निर्वाह गरेको उनीहरूको भनाइ थियो ।

पूर्व राज्यमन्त्री तथा सांसद सीता गुरुङले इतिहास र सभ्यताको विषयमा पुस्तक लेख्ने जस्तो धेरै नै गाह्रो काम सम्पन्न गरेकोमा लेखकद्वयलाई बधाइ दिइन् । लेखक लक्ष्मण लाओतीले आवश्यक दस्तावेज र स्थलगत अध्ययनमार्फत अनुसन्धान गर्दाका अनुभवहरु सुनाउँदै आफुसँग भएका महत्वपूर्ण प्रमाण र दस्ताबेजहरु आम मानिसका लागि उपलब्ध गराउनुपर्नेमा जोड दिए । यस्ता दस्ताबेजहरू हेर्नु वा कसैलाई देखाउनु हुँदैन भन्ने मान्यताले अझै पनि कतिपय महत्वपूर्ण कागजात र लिखतहरु बाकसमै रहेकोमा त्यस्ता दस्ताबेज पनि पुस्तकका रुपमा सार्वजनिक गरिनुपर्ने उनको भनाइ छ । तेजेन्द्र कुरुम्बाङले प्रकाशन गरेको यो पुस्तकको मूल्य ६५० रुपैया राखिएको छ ।