April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
जात्री पर्वका अवसरमा स्थानीय बिदा

जात्री पर्वका अवसरमा स्थानीय बिदा

दमक । पूर्वी तराईका आदिवासी धिमाल समुदायको महान् पर्व जात्री एवम् सिर्जात पूजाका अवसरमा स्थानीय पालिकाहरूले सार्वजनिक बिदा घाेषणा गरेको छ । माेरङ र झापाका नगरपालिकाहरूले जात्री मेला र सिर्जात पूजाकाे अवसरमा प्रशासनिक र शैक्षिक संस्थाहरूलाई स्थानीय बिदा दिने घाेषणा गरेको हाे ।

उर्लाबारी नगरपालिकाकाे निर्णय ।
बेलबारी नगरपालिकाकाे निर्णय ।
पथरी शनिश्चरे नगरपालिकाकाे निर्णय ।

जसअनुसार झापाकाे दमक नगरपालिका, माेरङकाे उर्लाबारी नगरपालिका, बेलबारी नगरपालिका र पथरी-शनिश्चरे नगरपालिका हरूले असार २ गते बिहीबारका दिन स्थानीय बिदा घाेषणा गरेको छ । आफूहरूले पर्वका दिन स्थानीय बिदा दिन माग गरेअनुसार स्थानीय सरकारहरूले निर्णय गरेको धिमाल जातीय विकास केन्द्रका महासचिव मातृका धिमालले बताए ।

Advertisement

धिमाल युवतीहरू ।

‘आदिवासी भूमिपुत्र धिमाल समुदायको चाडमा बिदा दिएर हामीलाई सुन्दर उपहार दिएका छन्,’ महासचिव धिमालले भने, ‘हामी केन्द्र र सिङ्गाे समुदायका तर्फबाट धन्यवाद ज्ञापन गर्दछाैँ । दमक नगरपालिकाले जेठ ३१ गते बिदा दिने घाेषणा गरेको थियाे । यसका लागि मेयर राम थापा, उपमेयर रेगिना भट्टराईले भूमिका खेलेका थिए । त्यस्तै, उर्लाबारीमा मेयर गङ्गाप्रसाद खरेल, उपमेयर मीना पाैडेल खतिवडाले निर्णय गराउन भूमिका निर्वाह गरेको केन्द्रले जनाएको छ । बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राई र उपमेयर नितु थापा काेइरालासहितकाे बाेर्डले पनि असार १ गते बुधबार निर्णय गरेको सूचना प्रकाशित गरेको छ । पथरी-शनिश्चरे नगरपालिकाका मेयर माेहन तुम्बापाे र उपमेयर देवीमाया काफ्लेसहित कार्यपालिका सदस्यहरूकाे बैठकले बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले जनाएका छन् ।

घरेलु सीपअन्तर्गत तान बुन्दै एक धिमाल महिला ।

जात्री पर्व र सिर्जात पूजा प्रत्येक वर्ष बैशाख २ गते उद्गम स्थल मानिने लेटाङ नगरपालिकाकाे भाेगटेनीस्थित राजारानीमा रहेको धिमाल ग्रामथामबाट सुरु हुन्छ । जुन असार २ गते उर्लाबारीकाे मङ्गलबारेमा रहेको केन्द्रकाे जग्गा(दस बिगाहा) मा समापन हुने गर्दछ । दुई महिनाभित्र धिमाल समुदाय बसाेबास गर्ने ९८ भन्दा बढी गाउँहरूमा मेला लाग्ने गर्दछ ।ग्रामथानमा हाँस कुखुरा, सुँगुरलगायतको बलि दिएर सो पर्व प्रारम्भ गरिन्छ । भोगटेनीबाट शुरु भएपछि धिमाल बस्तीको टोलटोलमा यो पर्व पुग्ने गर्छ । सिर्जात अर्थात् सामूहिक पूजा वा जात्री नयाँ वर्षको पहिलो चाड भएकाले सालभरि कसैलाई पनि रोगब्याधि नलागोस्, शोक नपरोस् र सुख शान्ति छाओस् भनेर मनाइने गरिएको छ । यो पर्वमा धर्म ठाकुर, लक्ष्मी, चौमाझी, बूढा ठाकुरलगायतको पूजा गरिने धिमाल जातीय विकास केन्द्रका उपाध्यक्ष केदार धिमालले जनाए ।

धिमाल बाजासहित नाचगान गर्दै ।

धिमाल जाति नेपालकाे पूर्वी तराईका झापा, माेरङ र सुनसरीमा आदिमकालदेखि बस्दै आएका छन् । उनीहरू पश्चिम बङ्गालको दार्जिलिङ जिल्लामा समेत बस्छन् । उनीहरूलाई दमक नगरपालिकाको पहिलो नागरिकका रूपमा सम्मान गरेकाे छ । त्यस्तै, बेलबारी, उर्लाबारीले पनि घाेषणा गरेको छ । धिमाललाई मधेशकाे लिम्बु भनेर समेत चिनिन्छ ।

माेरङकाे उर्लाबारीमा अवस्थित धिमाल जाति विकास केन्द्रकाे जग्गा ।

धिमाल जातिले उर्नी, तुन्जाई, ढोल, चाप्टा, गुमाना, बासुली, घुघुरूङ आदि प्रयोग गर्दछन् उर्नी तथा तुन्जाई यसजातिको लोपोन्मुख बाजा हो । यस जातिको प्रमुख चाडहरूमा सिरजात, पार्वा, फागु, नवाङ्गी, मेला, सिरजात, औँसी पूजा आदि हुन् । प्रत्येक चाडपर्वमा पूजाआजा गर्दा परेवा, कुखुरा आदिको बलि दिने चलन छ । २०६८ अनुसार धिमाल जातिको जनसंख्या २६,२९८ छ । यद्यपि, केन्द्रले पचास हजारभन्दा बढी भएको दाबी गर्दै आएको छ ।