April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
धिमाल समुदायको ठूलो पर्व जात्री सिर्जात सम्पन्न

धिमाल समुदायको ठूलो पर्व जात्री सिर्जात सम्पन्न

उर्लाबारी । आदिवासी धिमाल समुदायको महान पर्व जात्री/सिर्जात (पूजा) वा पर्व विधिवत रुपमा बृहत सांस्कृतिक कार्यक्रमको आयाेजना गरि समापन भएकाे छ ।

जात्री/सिर्जात पूजा वा पर्व प्रत्येक वर्ष बैशाख २ गते उद्गम स्थल मानिने लेटाङ नगरपालिकाको भोगटेनीस्थित राजारानी धिमाल डाँडामा रहेको धिमाल ग्रामथामबाट सुरु हुन्छ । असार २ गते उर्लाबारीको मङ्गलबारेमा अवस्थित धिमाल जातीय विकास केन्द्र केन्द्रीय कार्यालय परियाेजना स्थल (दस बिघे) मा समापन हुने गर्दछ । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले धिमालहरू नेपालका सबैभन्दा पुराना आदिवासी र भूमिपुत्र भएको उल्लेख गर्दै हिजाे राज्यको विभेदकारी, नीति भएकै कारण आदिवासी जनजातिहरू राज्यले वितरण गरेका सेवा सुबिधाबाट बञ्चित भएको बताएका छन् ।

Advertisement

प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राई कार्यक्रममा बाेल्दै ।

माेरङकाे उर्लाबारी– ३ मङ्गलबारेमा धिमाल जातिकाे सबैभन्दा ठूलाे पर्व जातिरी, सिरिजातकाे समापन गर्दै उनले साे कुरा बताएका हुन् । लाेकतान्त्रिक गणतन्त्रमा मात्रै सबै जात धर्म र लिङ्ग भएका नागरिकले राज्यको सुविधा समान रुपमा प्राप्त गर्ने मुख्यमन्त्री राईकाे भनाइ थियो ।

राईले आरक्षणकाे व्यवस्था पनि सबै जात जातीलाई अवसरकाे समान उपयोगका लागि गरिएको उल्लेख गरे । आगामी साउन भित्रमा प्रदेशको नामाकरण हुने राईले बताएका छन्। प्रदेश सरकारले प्रदेशकाे नामाकरण गर्न नसक्ने बताउँदै उनले प्रदेश सभाले सके सहमतिमा नभए बहुमतका आधारमा भए पनि प्रदेशको नाम राखिने बताए । मुख्यमन्त्री राईले बहुमतका आधारमा राखिएको नाम सबैका लागि उपयुक्त नहुन सक्ने तर्क गरे । तर, अब नाम जुराउन प्रदेश सभाले ढिलाे नगर्ने बताए ।

आदिवासी धिमाल समुदाय ।

समापन कार्यक्रममा धिमाल जातिको माैलिक नाचगान, ढाेल प्रतियोगिता, धिमाल कलाकारहरुकाे कला र गाला प्रस्फुटन गर्न स्टेजमा माैका लगायतका अवसर दिईन्छ । दुई महिना भित्रमा धिमाल समुदाय बसोबास गर्ने एक सय भन्दा बढी गाउँहरूमा मेला जातिरी/श्रीजात लाग्ने गर्दछ । दुई महिना सम्ममा धिमाल जाति वा समुदायकाे प्रत्येक घरबाट कम्तीमा तीस हजार खर्च हुने समग्र समापन सम्ममा करिब डेर कराेड खर्च हुनेगरेकाे केन्द्रीय तथ्यांकले जनाएकाे छ । ग्रामथानमा फलफुल, हाँस, परेवा, कुखुरा, सुँगुरलगायतको बलि दिने गरिन्छ । भोगटेनीबाट शुरु भएपछि धिमाल बस्तीको टोलटोलमा यो पर्व पुग्ने गर्छ । सामूहिक पूजा जात्री/श्रीजात नयाँ वर्षको पहिलो चाड भएकाले सालभरि कसैलाई पनि रोगब्याधि नलागोस्, शोक नपरोस्, अतिबृष्टि, अनाबृष्टि, खेतका बालिनानी सप्रियाेस र जिवनमा सुख शान्ति छाओस् भनेर मनाइने गरिएको छ । यो पर्वमा धर्म ठाकुर, लक्ष्मीबेराङ, चौमाझी, बूढा ठाकुरलगायतको पूजा गर्ने गरिन्छ ।

नेपालको पूर्वी तराईका झापा, मोरङ र सुनसरीमा आदिमकालदेखि बस्दै आएका छन् । धिमालहरू पश्चिम बङ्गालको दार्जिलिङ जिल्लामा समेत देख्न सकिन्छ । धिमाललाई दमक नगरपालिकाको पहिलो नागरिकका रूपमा सबैभन्दा पहिले घाेषणा गरेको हाे । त्यस्तै, बेलबारी, उर्लाबारी, पथरीशनिश्चरेले पनि घोषणा गरेको छ ।
समापन कार्यक्रममा धिमाल जाति विकास केन्द्रले प्रत्ये वर्ष प्रदान गरिने युवा प्रतिभा पुरस्कार बडिबिल्डर ललित धिमाललाई प्रदान गरिएकाे थियाे भने विभिन्न धिमाल गाउँटाेल समितिबाट सहभागी ढाेल मध्ये प्रथम डुम्रेघाट, द्वितीय कालाबन्जार, त्रितिय जम्बुझार र सान्त्वना बाह्रघरे गाउँटाेल समिति भएकाे थियोे ।

कार्यक्रमकाे विशिस्ट अतिथिमा प्रदेश सांसद कुलप्रसाद साँवा र अतिथिहरुमा स्थानीय पार्टी नगर अध्यक्ष, विभिन्न संघसंस्था, समाजसेवी, स्थानीय र छिमेकी नगरका जनप्रतिनिधिहरु रहेका थिए भने धिमाल जातीय विकास केन्द्रका केन्द्रीय अध्यक्ष लाेकबहादुर धिमालकाे अध्यक्षतामा कार्यक्रम समापन भएकाे थियाे ।