April 12, 2024, Friday
२०८० चैत्र ३०, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
लिवि मञ्चले सिलाम साक्मा बुन्न सिकाउने

लिवि मञ्चले सिलाम साक्मा बुन्न सिकाउने

विजयपुर । लिम्बु विद्यार्थी मञ्च सुनसरीले याक्थुङ लिम्बु समुदायकाे महत्त्वपूर्ण साँस्कृतिक प्रतीक मानिने सिलाम साक्मा बनाउने तालिम आयाेजना गर्ने भएको छ ।

युवा, विद्यार्थी र इच्छुक सबै उमेर समूहका याक्थुङ र गैरयाक्थुङ लिम्बु समुदायलाई लक्षित गरेर असार अन्तिम साता तालिम आयाेजना गर्न लागेको लिवि मञ्च सुनसरीले जनाएको छ । तालिम असार २५ गतेदेखि २७ गतेसम्म धरानकाे चुम्लुङ हिममा हुने लिवि मञ्च सुनसरी अध्यक्ष हरि इवाहाङले बताए । ‘नयाँ पुस्तामा साँस्कृतिक जागरणसँगै आर्थिक उपार्जनका लागि बाटाे बनाउन तालिम आयाेजना गरेका हाैँ,’ अध्यक्ष इवाहाङले भने, ‘तालिमबाट सीप सिकेपछि प्रशिक्षार्थीहरूले यसलाई बिक्रीवितरण गरेर आयकाे स्राेत बनाउन सक्नेछन् ।’ अध्यक्ष इवाहाङले लाेक सीपलाई व्यावसायिकरण गर्न पनि तालिमले टेवा दिने विश्वास व्यक्त गरे । नि:शुल्क रूपमा आयाेजना हुन लागेकाे तालिम दिउँसो साढे एकदेखि ५ बजेसम्म हुनेछ ।

Advertisement

तालिमबारे आयाेजक लिवि मञ्च सुनसरीको सूचना ।

सिलाम साक्मा पछिल्लो समय सबैभन्दा व्यापक रूपमा प्रयाेग भएको सामग्री हाे । ‘सि’ काे याक्थुङ भाषामा शाब्दिक अर्थ मृत्यु या मरण, ‘लाम्’ काे अर्थ बाटाे या मार्ग, ‘साक्मा’ काे अर्थ थन्नु या छेक्नु भन्ने बुझिन्छ । यसरी, मृत्युको बाटाे छेक्ने भन्ने अर्थमा याे सामग्री प्रयाेग गरिन्छ । समुदायको महत्त्वपूर्ण अनुष्ठानहरू तङ्सिङमा समेत चाेया र काँचो धागाेकाे सिलाम साक्मा प्रयाेग गर्ने गरिएको भए पनि अतिथि सत्कार गर्न, पहिरनमा सजिन, घरकाे धुरीमा प्रतिस्थापन गर्न सिलाम साक्मालाई प्रयाेग गरिएको छ । सिलाम साक्मा पछिल्लोपटक राष्ट्रिय र अन्तर्राष्ट्रिय रियालिटी साेहरूमा पनि प्रयोग हुन थालेपछि यसकाे लाेकप्रियता झनै चुलिएको छ ।

सिलाम साक्मा ।

मञ्चका सुनसरी सल्लाहकार एवम् साँस्कृतिक अभियन्ता धराननिवासी गाेपीलाल फेम्सङ लिवाङले तालिमलाई साैजन्य गरेका छन् । पूर्व ब्रिटिस गाेरखा सैनिक भएपनि यूके र ब्रुनाईमा रहँदा लिवाङले विशेषगरी केलाङ(च्याब्रुङ नाच) र अन्य साँस्कृतिक कामहरूलाई व्यापक बनाएका थिए । तालिमका लागि सिट सीमित रहेकोले अध्यक्ष इवाहाङ, सचिव सञ्जाेग हुक्पा चाेङवाङ, कार्यक्रम संयाेजक मुना चेम्जोङ, सह-संयाेजक अर्जुन लाबुङहरूलाई सम्पर्क गर्न आयाेजकले अनुरोध गरेको छ । याक्थुङ विद्यार्थीहरूकाे साझा सामाजिक विद्यार्थी सङ्गठनका रूपमा क्रियाशील मञ्चकाे स्थापना २०५५ मा भएको हाे ।

लिवि मञ्च सुनसरीले गत जेठ २५ गते मात्रै १० दिने नि:शुल्क केलाङ तालिम आयाेजना गरेको थियोे । जसमा ६० भन्दा बढी सहभागी भएका थिए ।