April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
वि सं १८३१ अगाडि याक्थुङलाजे (लिम्बुवान) कस्तो थियो ?

वि सं १८३१ अगाडि याक्थुङलाजे (लिम्बुवान) कस्तो थियो ?

✍️ युमाहाङ पालुङ्वा याक्थुङ

◾️पृष्ठभूमि :
लिम्बुवानको विषय उठान बेला बेला भैरहन्छ । उठानकर्ताहरुले पनि स्पष्ट धारणा तथा कार्यक्रमहरु ल्याउन सकेका छैनन् भने विरोधीहरुले पनि नानाओली भनेर गोलमाल बनाईदिएका छन् । यसै विषयलाई स्पष्ट बनाउनका लागि वि. सं. १८३१ अगाडिको लिम्बुवानको वस्तुस्थिति उजागरको लागि यस लेखको उद्देश्य रहेको छ ।

Advertisement

◾️भौगोलिक अवस्था :
भौगोलिक अवस्था भन्नाले वि सं १८३१ अगाडिको लिम्बुवानको भूगोललाई सम्झिनु पर्दछ । त्यो बेलाको लिम्बुवानको भौगोलिक धरातल उत्तरमा हिमाल, मध्यमा पहाड र दक्षिणमा समथर मैदान थियो ।

सीमा क्षेत्रको आधारमा उत्तरमा सेसेलुङ (कञ्चनजंगा) फक्ताङलुङ(कुम्भकर्ण) रेन्ज, पश्चिममा अरुण सप्तकोशी, दक्षिणमा जलालगढ भारत, पूर्वमा आसाम भारतसम्म थियो । यो दक्षिण र पूर्वको सीमाना भौगोलिक रुपले कोरिएको थिएन । बसोवासका आधारमा रहेको थियो । अर्थात् याक्थुङ जनसंख्या बसोवास गरेको ईलाकाको रुपमा हुन्थ्यो । अरुण पश्चिम सिस्वा खोलासम्म प्रभाव थियो ।

◾️जनसंख्या तथा वसोवास अवस्थिति :
त्यो बेला जनगणना गरिएको तथ्य भेटिँदैन । तर अनुमान लगाउन सकिन्छ कि लगभग ३०-५० हजार हाराहारी थियो । यो भनेको एकदम पातलो हो । हालको पहाडको एउटा गाउँपालिकामा १०० या ठाउँ हेरि तलमाथि हो । उसबेला तराईमा भन्दा पहाडमा जनघनत्व थियो ।

◾️जंगल बढी बसोवास र आवादी कम :
त्यो बेला ९० प्रतिशत जस्तो भूमि जंगल थियो । जनसंख्या थोरै भएकोले खेतिपाती गर्न थोरै जंगल फडानी गर्दा पुग्थ्यो । कतिपय ठाउँमा भस्मे फडानी र खेती गरिन्थ्यो । अर्को साल अर्कोतिर सोही अनुरुप खेती गरिन्थ्यो । मुख्य वस्तीबाहेक कतिपय वस्ती सरिबस्थ्यो ।

◾️तराईको अवस्था कस्तो थियो ?
उसवेला पहाडमा प्रायस छिटफुट सबै ठाउँमा बसोवास थियो । याक्थुङ जातिकाे बसोवास बढी थियो । सामूहिक परिवार हुन्थ्यो । उनीहरुको समुदायको प्रमुख हुन्थ्यो । उनीहरुलाई आपुङ्गी राजा भनिन्थ्यो । १० याक्थुङले अधिकरण गरेको बाहेक अन्य ठाउँहरू जस्तो आठपहरे, याख्खा, लेप्चाहरुको पनि बसोवास रहेको थियो । उनीहरु १० याक्थुङ सोसरह मानिन्थे । तर कतिपय भाषा र संस्कारमा थोरै विविधता थियो । लेप्चाहरुको अलिक फरक थियो । तराईमा मुख्य गरेर बसोवास भएको ठाउँ भनेको विजयपुर, हरैचा, लेटाङ, रंगेली, जलालगढ आदिमा मात्र थियो । झापामा छिटफुट बसोवास थियो । यस क्षेत्रमा थारु, धिमाल, मेचे, कोचे नगन्य संख्यामा बस्दथे ।

◾️तराईको स्थिति :
वर्तमान घडीमा तराईमा जनसंख्या अत्यधिक छ । शहरहरुको विकास भएको छ । आदिकालदेखि बसोवास गर्नेहरु भन्दा बाहिरबाट आऊनेहरु धेरै भएका छन् । अब यिनीहरु कहाँबाट आए त भन्ने हुन्छ । यिनीहरु कतिपय पहिले पहाडमा अरुण पश्चिमबाट आए । पहाडबाट तराई सरे । कोही पश्चिमवाट सिधैँ तराई झरे । पहाडमा आउनेहरु पनि वि. सं. १८८०-९० तिर छिटफुट आएका थिए । पहाडवासी यिनीहरु वि सं २००७ -८ सालतिर कांग्रेस पार्टीको संरक्षणमा छिटफुट तराई झरे । अनि वि.सं.२०२५ सालपछि धेरै झरे । त्यस्तै, भारत बाेर्डरपारिबाट आए । त्यो बेला नेपालको राजा महेन्द्रले जंगल फडानी गरेर बसोवास गराएका थिए ।

वि सं २०२५ सालतिर तराईतिर जंगलै जंगल थियो । त्यसयता जनसंख्या द्रुततर गतिमा बढेर गयो । नेपालका प्रायश: सुनकोशी पूर्वको मानिसहरुको व्यापक बसाइँ सराइँ केन्द्र हुन पुग्यो । अनि, धरान, ईटहरी, विराटनगर, उर्लाबारी, दमक, विर्तामोड, काँकडभित्ता, लगायत ठूला साना शहरहरु बनिए भने गाउँको जनघनत्व बढेर गयो । त्यहाँको स्थानीय रैथानेहरु याक्थुङ (लिम्बु), याक्खा, आठपहरे, याम्फू, लोहाेरुङ, मेवाहाङ, लेप्चा, धिमाल, थारु, मेचे, कोचेभन्दा आगन्तुकहरु धेरै भए । वि.सं. २०२१ सालमा भूमिसुधार व्यवस्थाको नाममा कानून बनाएर राजा महेन्द्रले याक्थुङ (लिम्बु) हरुको भुमि माथिको किपट अधिकार हनन गरेका थिए ।

लेखक पालुङ्वा ।

◾️सप्तकोशीको बहाव क्षेत्र :
उसबेला सप्तकोशी बराहश्रेत्रवाट हालको बाटो नगई ईनरुवा विराटनगर रंगेली हूदै भारत गंगामा मिसिन्थ्यो । बाढीअनुसार बाटो फेर्दथ्यो । त्यसैले कोशीको सिमानाले बेलाबेला लिम्वुवानको सिमानामा विवाद आउने गर्दछ । यद्यपि, सिमाना हालको सप्तकोशी नै हो ।

◾️लिम्बुवानको शासन व्यवस्था :
लिम्बुवानलाई वि.सं. १८३१ अघि याक्थुङलाजे भन्थे । यहाँ १० जना याक्थुङ हाङ या प्रमुखहरूले शासन गर्दथे । यी १० राजाहरु निरन्तर एउटै वंशका हुँदैनथे । जो शत्तिशाली, बलियो, शासनमा क्षमता राख्दथ्यो उसलाई राजाका रुपमा मानिन्थ्यो । उनीहरु थुम अनुसारका हुन्थे । बेला बेला जो कोही शत्तिशाली भएर आउँथ्यो उसले उक्त थुमको शासन लिन्थ्यो । साना साना थरीय प्रमुख हुन्थ्यो । उनीहरुलाई पनि हाङ भनिन्थ्यो। तसर्थ याक्थुङ लिम्वुहरुलाई आपुङगी राजाहरु भनेको हो । अर्थात मुख्य १० थुम(यक)हरु थिए । त्यो थुमभित्र निश्चित थरका मान्छेहरु बसोवास गर्थे । उनीहरुको शासन स्वयं थुमले गर्दथ्यो । आ-आफ्नो ईलाकाको मुख्य व्यक्ति छान्थे, उनीहरु थुमको प्रमुख हुन्थे । सबै थुम मिलेर कानून/ नियम बनाएर लागू गर्थे । एकल निर्णयलाई मान्यता दिदैँनथे । आफ्नो क्षेत्र याक्थुङलाजे बाहिरको शक्तिको विरुद्ध जानु पर्दा सबै मिलेर जान्थे । वि. सं. १८०० तिर विजयपुरको सेन वंश र सिक्किमको छोंग्याल वंशसँग मिलेर पनि शासन गरे । तर उनीहरुले पूर्ण स्वतन्त्रपूर्ण शासन गरेका थिए। त्यो बेलासम्म याक्थुङलाजेको मानिसहरु आसामसम्म बस्दथे । सिक्किम पनि पहिले याक्थुङलाजे अन्तर्गत नै थियो । पछि मात्र छोंग्याल वंश शुरु भएको हो ।

आधुनिक लिम्बुवान राज्यको नक्सा ।

◾️गोरखाको सह-राज्य :
वि.सं. १८३१ मा थुमिय शासन या संघात्मक शासन व्यवस्था सञ्चालित याक्थुङलाजे गोरखाको सह- राज्य भएर प्रवेश भयो । विशेष गोरखाले १७ पटकको आक्रमणमा पनि याक्थुङलाजे नजितेपछि गोरखालाई विजयपुर जस्तै केन्द्र मानेर कसम खाएर स्वशासन गर्ने सम्झौता गरिएको थियो । सोहि मुताविक याक्थुङलाजे ले सहमति दिएर सञ्चालित थियो । गोरखाको सह-राज्य भएपछि लिम्बु र लिम्बुवान भन्न थालियो ।

◾️निस्कर्ष :
याक्थुङलाजे(लिम्बुवान)को तत्कालीन इतिहासलाई बुझेर वर्तमान पुस्ताहरुले काम गर्नुपर्दछ । उद्देश्य प्राप्ति हुनेछ ।