April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
साम्जिक मुन्धुमलाई रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार

साम्जिक मुन्धुमलाई रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार

काठमाडाैँ । किरात याक्थुङ चुम्लुङ (कियाचु) को पूर्व केन्द्रीय अध्यक्ष मञ्जुल कुमार याक्थुङबा (फोम्बो) द्वारा स्थापित प्रत्येक २ वर्षमा एक लाख रुपैयाको रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार– २०६७ स्थापना गरिएकोमा यस वर्ष सोधुङ्गे लेप्मुहाङ फेदाङ्मा याचुम्भोद्वारा प्रकाशित याक्थुङ साम्जिक मुन्धुम नामक कृतिलाई प्रदान गरिने भएको छ ।

प्राप्त समाचार अनुसार येबा पूर्ण प्रसाद तबेबुङ ‘कमल’ (येभुक्को येभुन्याङया) प्रमुख संकलक र येबा खड्ग बहादुर इधिङ्गो (येधरा येभुक्को येभुन्याङ्या), साम्बा बुद्धिराज मादेन (साम्जिरी साम्खेन्याङ् साम्बा), फेदाङ्मा मेघराज इधिङ्गो (फेजिक्कुम फेदाङ्मा), युमा भक्तिदेवी फुरुम्बो (युमासाम्) संकलक र डी.बी.आङ्बुङले सम्पादन/अनुवाद गरेको याक्थुङ साम्जिक मुन्धुमलाई यस वर्षको रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार–२०६७ प्रदान गरिने भएको छ ।

Advertisement

मुन्धुमका श्रोत व्यक्तिहरु स्व. डम्बर बहादुर लिङ्खिम, स्व.नर बहादुर मावोहाङ र बल बहादुर पताङ्वा रहेको सो साम्जिक मुन्धुम करिव दस वर्ष भन्दा बढी लगाएर यस वर्ष २०७९ मा प्रकाशनमा ल्याइएको हो । जम्मा १८०८ पृष्ठ रहेको उक्त मुन्धुममा याक्थुङ मुन्धुमलाई ५५ वटा मुन्धुमको सूची र बाँकी सहयोगदाताहरुको विवरण ५ वटा गरेर ६० वटा विषय सूचि निर्माण गरिएको छ । यो अहिलेसम्मकै धेरै मुन्धुम समेटिएको र ठूलो मुन्धुमको ठेली हो ।

प्रकाशित पुस्तककाे पाण्डुलिपि ।

संचालक समितिले असार १२ गतेका दिन येहाङ लाओतीको संयोजकत्वमा तीन सदस्यीय पुरस्कार छनौट समिति गठन गरेको थियो । सदस्यद्वयमा यासेली योङहाङ र अम्मर तुम्याङ रहेका थिए । संचालक समितिले सोहीदिन १५ दिनको समय राखी असार २७ गते अपरान्ह ५ बजेसम्म मुन्धुमसंग सम्बन्धित कृतीहरु आव्हन गरेको थियो । सो अनुसार यस वर्ष नियमावली अनुसार ४ वटा आवेदन अन्तर्गत र वाँकी २ वटा संचालक समितिले समावेस गरेका गरी ६ वटा कृतिहरु आएका थिए । जसमा आवेदन भई आएकाहरुमा साम्जिक मुन्धुम, चारमाया पालाम, याक्थुङ येत्छाम खाजोङहा, याक्थुङ संकारहरु परेका थिए भने संचालक समितिले तङ्सिङ मुन्धुम र लिम्बू जातिको मृत्यु दस्तुर २ वटा कृति प्रतिस्पर्धाको लागि समावेस गरेको थियो ।

यस साम्जिक मुन्धुमलाई पुरस्कार छनवट समितिले उत्कृष्ट ठहर गरी सिफारिस गरेको र सो सिफारिसलाई सदर गर्दै संचालक समितिको श्रावण ५ गतेको बैठकले यस वर्ष २०७९ को रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार– २०६७ यस वर्ष सोधुङ्गे लेप्मुहाङ फेदाङ्मा याचुम्भोद्वारा प्रकाशित याक्थुङ साम्जिक मुन्धुम नामक कृतिलाई प्रदान गरिने निर्णय गरिएको जनाएको छ । पुरस्कार राशि एकलाख रुपैया रहेको जनाइएको छ ।

यो पुरस्कार यस अगावै पूर्व कुलपती बैरागी काइलाद्वारा लिखित तङसिङतक्मा मुन्धुम, उनैद्वारा लिखित मुजिना खेयङ्ना मुन्धुम, लाहादङ्ना–सुवाम्फेवा मुन्धुम, पाजाइवा मुन्धुम, खाप्पुनामा मेल्लहाङ्मा मुन्धुम, लुप्लिनामा वदङ्नामा मुन्धुम र केसामी नाम्सामी मुन्धुमले पाइसकेका छन् । रत्नशोभा–शुभलक्ष्मी मुन्धुम पुरस्कार– २०६७ का लागि प्रत्येक दुई वर्षमा किरात याक्थुङ चुम्लुङको स्थापना दिवस भाद्र १७ गते उक्त पुरस्कार प्रदान गरिन्छ । सिरिजंगा लिपि, याक्थुङ (लिम्बु) भाषा र नेपाली वा अंग्रेजीमा अनुवाद गरिएकोलाई पहिलो प्राथमिकता दिइने यो पुरस्कार दोस्रो प्राथमिकतामा देवानागरिक लिपीमा लेखिए पनि अंग्रेजी वा नेपालीमा अनुवाद गर्नु पर्ने प्रावधान छ । कृतिहरु मुन्धुममा आधारित, खोजमूलक, अनुसन्धानात्मक र सान्दार्भिक प्रमाणयुक्त हुनु पर्ने नियमावलीमा उल्लेख भएको संचालक समितीका सदस्य सचिव डा.कमल तिगेला खेवाहाङले बताए ।