April 30, 2024, Tuesday
२०८१ बैशाख १९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अब चासोक तङ्नाम यसरी मनाऔं

अब चासोक तङ्नाम यसरी मनाऔं

◾️भूमिका

चासोकलाई तङनामको नाम दिएर याक्थुङहरुले मानेको १८ वर्ष जस्तो भयो । तर पूजाआजाको रुपमा मानेको कृषि युगदेखि पाईन्छ । चासोक भनेको न्वागी हो । यसमा नयाँ अन्न बाली धान पाकेपछि खान अगाडि युमा माङ(ईश्वर)लाई पूजा गरी चढाएर मात्र खाईन्छ । यस्तो पूजाआजाको काम कृषक याक्थुङ लिम्बुहरूको प्रतेक घरहरुमा हुने गर्दछ । यो याक्थुङलाजे (लिम्वुवान ) भरी हुन्छ । यहिबेला थिसोक पनि गरिन्छ । थिसोक भनेको नयाँ पाकेको अन्न कोदोको जाँड बनाएर युमालाई पूजा गरी चढाएर खाने हो । त्यसैले यो पूजालाई तक्सोक थिसोक पनि भनिन्छ । यहीवेला फाक्सोक पूजा पनि गरिन्छ । फाक्सोक भनेको सुँगुरले पाएको बच्चाहरु बेच्न र खान अगाडि युमालाई पूजा गरी चढाएर खानलाई हो ।

Advertisement

चासोकको बेला नयाँ धानको भात, कालो दाल, मस्याम आदिको दाल, कोदोको तोङवा, सुगुरको मासुको परिकार खाने चलन छ ।

◾️चासोक कुन बेला पर्छ ?

नेपाली पात्रो अनुसार कात्तिकतिर पर्छ । विशेष गरेर कार्तिक १५ देखि मंसिर १५ भित्र पर्दछ ।

याक्थुङ अनुसार मुवेक्वामा पर्दछ । जुनवेलादेखि घाम दक्षिणतिर सर्दै जान्छ । नेपालीमा उधौली भनिन्छ ।

लेखक पालुङ्वा ।

◾️किन कहिलेकाहीँ चासोक पुषमा पर्दछ?

नेपाली पात्रो चलाएकोले र चन्द्रमास तिथि पछ्याएकोले त्यस्तो हुन गएको हो । वास्तवमा याक्थुङहरुले सूर्यमास मान्ने हुन । अर्थात घामको आधारमा दिनको परिवर्तनलाई पछयाउने हुन । त्यसैले अमिल्दो भएको हो । हामीले सूर्यमास नै मान्नु पर्दछ ।

◾️अव कसरी मान्ने त?

किरात याक्थुङ चुम्लुङले भूलवश चन्द्रमास मानेकोले अन्नवाली थन्क्याएपछि मात्र चासोक मान्नु परेको हो ।
तर कृषकहरुले समयलाई मानेर अन्नवाली पाक्ने बेलामा नै चासोक मनाउँछन् ।

◾️चासोक कार्तिक १५- मंसिर १५ विचमा मनाउनु पर्छ

चासोक भनेकै नयाँ अन्नलाई खान अगाडि युमालाई चढाएर खाने भनेपछि यो बाली पाकेकै बेला मनाउनु पर्दछ । यो समय भनेको कात्तिक १५-१५ मंसिर नै हो । वाली थन्क्याएपछि मनाउने नै होईन । यसलाई मिलाउनु पर्दछ । विशेष अन्तिमतिर चासोक मेलासम्म लगाउन सकिन्छ । तर, वाली भित्र्याई नसकेको अवस्था हुनुपर्दछ ।

◾️अब चासोक कसरी मनाउने ?

१)तक्सोक थिसोक पूजा गर्ने ।

परम्परागत रुपमा मानेझैं प्रतेक घर परिवारले फेदाङेमा बाेलाएर युमालाई पूजाआजा गरेर तक्सोक, थिसोक गर्ने छ भने फाक्सोक गर्ने । कृषक तथा गाउँघरमा त समस्या भएन । तर शहरवासीले कसरी गर्ने ? भन्ने सवालमा शहरवासीले पनि नयाँ अन्न झिकाएर फेदाङ्मा बाेलाएर युमा पूजा गर्नु पर्दछ । विभिन्न पूजाहरु जस्तो माङ्गेना, नाहाङ्मा, नाहेन गर्नु पर्दछ ।

संसारको जुनै कुनामा बसे पनि प्रत्येक याक्थुङहरुले युमा पूजा, माङ्गेना आदि फेदाङ्माद्वारा गराउनु पर्दछ । जब हामी फेदाङ्मा चलाउँछौं तब फेदाङ्माको पनि संरक्षण र सम्बर्द्धन हुनेछ ।

२) आफन्तजन कोशेलीसहित भेटघाट गरागर गर्नु पर्छ ।

३) विवाहित छोरी चेलीहरू माईत जानु पर्दछ । भानाभान्जाहरू मावली जानुपर्दछ । ज्वाई ससुराली जानुपर्दछ ।

४) विवाह सम्बन्धी रीतहरु जस्तै फाक्होक चासोकमा लैजानु पर्दछ ।

५) छोराछोरीहरुलाई आशीर्वाद दिनु पर्दछ । केही सानो रकमहरु दिनुपर्दछ ।

६) मीठो र विविध याक्थुङ परिकारकाहरू खानु पर्दछ ।

७) नयाँ कपडाहरु लगाउनु पर्दछ ।
८) घर लिपपोत तथा सरसफाई गर्नु पर्दछ । घर सजाउनु पर्दछ । याक्थुङ चित्रहरू घरको भित्तामा कोर्नु पर्दछ ।

९) जूठो बार्नु पर्दछ ।

१०)सरकारलाई सरकारी बिदा दिन लगाउनु पर्दछ ।

११) मनोरञ्जनका लागि मेला लगाउनु पर्दछ । लिङ्गे पिङ, रोटे पिङ थाप्नु पर्दछ । पार्टी फङ्सन गर्नु पर्दछ ।

११) परोपकारी कार्य गर्ने चलन चलाई गरिबहरुलाई खानादान, मासुदान, रुपैयाँ दान दिनु पर्दछ । ताकि गरिबहरुले पनि राम्ररी चासोक मनाउन सकून् ।

(लेखमा व्यक्त धारणा लेखकका निजी अभिव्यक्ति हुन् । सं.)