April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बेलायती याक्थुङ नानीहरूले चासोकको कार्ड बनाउँदै शुभकामना बाँडे

बेलायती याक्थुङ नानीहरूले चासोकको कार्ड बनाउँदै शुभकामना बाँडे

आसफोर्ड । पहिचानको आन्दोलन र त्यसले ल्याएको साँस्कृतिक चेतना अहिले नेपालमा भइरहेको सामाजिक र साँस्कृतिक गतिविधिहरूमा देख्न सकिन्छ । आधुनिकीकरण र भूमण्डलीकरणका बावजुद पनि नयाँ पुस्ता क्रमशः आफ्नो साँस्कृतिक पचिानसँग नजिक हुन थालेको छ ।

डिसेम्बरको तेस्रो साता नलाग्दै नेपाल र संसारभर याक्थुङ समुदायले सामूहिक र संस्थागत रूपमा उनीहरूको महान् पर्व चासोक तङ्नाम मनाइरहेका छन् । गाउँघर र ग्रामीण भेगमा अक्टोबर महिनाको सुरुवातमै नयाँ बाली थन्क्याएर सर्वोच्च शक्ति तागेरानिङ्वाफू युमामाङलाई समपर्ण गरेर चासोक थिसोक्/चासोत्/चाःसोःक मनाए पनि संस्थागत रूपमा मंसिर पूर्णेका दिन यो चाड मनाइरहेका छन् । खासगरी, किरात याक्थुङ चुम्लुङ लगायतका जातीय संस्थाको अगुवाईमा लिम्बुवान क्षेत्र, उपत्यका, कास्की, चितवन र प्रवासका मुलुकहरूमा यो चाडले व्यापकता पाएको छ । बेलायत जस्तो याक्थुङ लिम्बु समुदायको बाक्लो वसोबास रहेको देशमा समेत आफ्नो जातीय पहिचानका लागि चुम्लुङको संगठनमार्फत् समुदाय सक्रिय छ । यसको थोर बहुत प्रभाव नयाँ पुस्तामा समेत देखिन थालेको छ ।

Advertisement

यस वर्षको चासोक तङ्नाममा तेस्रो पुस्ताको समेत सहभागिता हुनुले आफ्नो साँस्कृतिक पहिचानको संरक्षण हुनेमा आश जागेको चुम्लुङका अगुवाहरू बताउँछन् । कियाचु यूकेको आसफोर्ड शाखाले यसपटक महामारीलाई ध्यानमा राख्दै आफ्नो गतिविधि सीमित पारे पनि नयाँ पुस्ताका लागि भनेर चासोक तङ्नामको उपलक्ष्यमा शुभकामना पत्र प्रतियोगिता आह्वान गरेको थियो । बेलायती समाजको प्रभावलाई रोक्न नसके पनि साँस्कृति पहिचान र जातीय विरासतलाई कायम राख्न बालबालिकाकेन्द्रित प्रतियोगिता गरिएको शाखा अध्यक्ष सोदीप थोप्राले बताए । ‘समुदायका बालबालिकालाई उनीहरूकै मनोविज्ञानअनुसार जोड्न यो कार्यक्रम राखेका हौँ,’ उनले भने, ‘पश्चिमको सँस्कृतिको केन्द्रविन्दूमा रहेको देशका नेपाली पहिचान र त्यसभित्र आफ्नो जातीय साँस्कृतिक पहिचान जोगाउनु चुनौतीपूर्ण छ ।’ डिसेम्बरको अन्तिम सातामा पर्ने बेलायती र संसारभारका धेरै देशहरूको मुख्य पर्व मानिने ख्रिष्टमस पर्वको चहलपहल बढिरहेको बेला चासोक जस्तो पर्वमा नयाँ पुस्तालाई तान्नु गाह्रो काम रहेको उनले बताए ।

एक सहभागीले बनाएको पोष्ट कार्ड ।

कोरोना महामारीका कारण ठीक दुई वर्षपछि आसफोर्डको बिहीबारे हलमा भेट भएका याक्थुङ लिम्बु समुदायहरूमा साँस्कृतिक पहिचान र सम्पदा हस्तान्तरण गर्न चिन्ता भएपनि केही आशा पलाएको कियाचु यूकेका पूर्व अध्यक्ष डम्मर सिंगकले बताए । ‘नेपालमै पनि मातृभाषा बोल्ने वक्ता संख्या घटिरहेको अवस्था छ । मुन्धुमहरू लोप भएर जाँदै छन् । केही संरक्षणका कामहरू पनि भएका छन् । यस्तो अवस्थामा थातथलोबाट टाढा रहेका समुदायको पनि नयाँ पुस्तामा सिर्जनात्मक हिसाबले केही कामहरू हुन थाल्नु तारिफयोग्य हो,’ उनले भने, ‘अब सबै शाखाहरूमा युवा पुस्ताहरू समाहित हुनुपर्छ । अनि यहीँ जन्मे हुर्केकाहरूका लागि केही कामहरूको आधार तय गर्नुपर्छ ।’ यूकेमा कियाचुका १६ शाखाहरू छन् । चुम्लुङ यूकेको स्थापना सन् २००३ मा भएको थियो ।

शाखाका सहसचिव एवम् साँस्कृतिक विभाग प्रमुख शिखर सम्बाहाङ्फेले आफू पनि १२ वर्षअघि किशोरावस्थामा यूके आउनुअघि याक्थुङ भाषा, लिपि, संस्कार संस्कृतिबारे पूर्णतया बेखबर रहेको बताउँदै चुम्लुङकै कारण जातीय पहिचानबारे बुझ्न पाएको धारणा राखे । यहीँ क्रमलाई निरन्तरता दिन आफूभन्दा मुनिका पुस्ताहरूलाई जोड्न आफूहरूले निरन्तर गतिविधि गरिरहेको कुरा राखे । शाखा उपाध्यक्ष सकुन नेम्वाङले पनि नयाँ पुस्तालाई संस्कार, संस्कृति, भाषा, इतिहासका बारेमा साक्षात्कार गर्न चुम्लुङ अघि बढ्ने धारणा राखिन् ।

शनिबार भएको चासोक तङ्नाम ग्रिटिङ कार्ड प्रतियोगिता १८ वर्षसम्मका बालबालिकाहरूका लागि आयोजना गरिएको शाखा सचिव एवम् कार्यक्रमका परिकल्पनाकार अमित थेवेले जनाए । सहभागी आठ जना प्रतियोगीहरु क्रमशः नामयो लिम्बु, सेवाहाङ लाबुङ, निङ्सेन साम्यू, नुसाङ् लिम्बु, नुमा लिम्बु, ओजश्वी लिम्बु, दिवाना पालुङ्वा र तान्छो साम्याूलाई अध्यक्ष सोदीप थोप्राले नगद पुरस्कार प्रदान गरेका थिए ।

त्यसअघि, बिहान सेवासम्बा ज्ञानु फुरुम्बोले किरात सत्यहाङ्मा विधि अनुसार चासोक पूजाको कार्य सम्पन्न गरेका थिए । परम्परागत या मौलिक युमा साम्योको विधिअनुसार यस वर्ष फेदाङ्माले पूजा गर्ने पालो रहेपनि फेदाङ्माको उपलब्धता हुन नसकेपछि सेवासाम्बाबाट कार्य अघि बढेको उपाध्यक्ष काजी साम्यूले जनाए । यूकेमा केन्द्र र शाखा समिति दुवै एक एक वर्ष चक्रीय प्रणाली अन्तर्गत फेदाङ्मा र सेवासाम्बाको विधिबाट चासोक पूजा हुँदै आएको छ ।

पूजा सकिएपछि चुम्लुङ आश्फोर्ड शाखाका अध्यक्ष थोप्राले उपस्थित अतिथिहरूलाई चासोक तङ्नामको शुभकामना साथै हुक्वा प्रदान गर्नेलाई धन्यवाद व्यक्त गरेका थिए । उक्त दिन सम्पन्न कार्यक्रमका लागि खाना र पेय पदार्थ उपस्थित आश्फोर्डवासीहरुको हुक्वाबाट व्यवस्था भएको थियो । सदाझैँ यस वर्ष पनि चासोक तङ्नाममा उपस्थित भएर सदस्यता नवीकरण समेत गरिएको कोषाध्यक्ष तुलवीर लिम्बुले बताए । कार्यक्रममा शाखाका सल्लाहकारहरु टङ्क येङ्देन, राजेन्द्र खिम्दिङ, देव हुक्पा चोङ्बाङ, पूर्ण मादेन, केन्द्रीय कार्यसमितिका उपाध्यक्ष गणेश इजम, पूर्व सल्लाहकारहरु डम्बर सिङ्गक, काजीमान यक्सो, पूर्व उपाध्यक्षहरु छत्र वनेम, दुर्गा पाङ्मा र पूर्व पीपीसी संयोजक पदम बहादुर आङ्बुहाङको पनि उपस्थिति रहेको थियो ।