April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘मधेश प्रदेशले सहिदहरूको सपना पूरा गरेको छ’ – दस जोड एक राष्ट्रिय समिति

‘मधेश प्रदेशले सहिदहरूको सपना पूरा गरेको छ’ – दस जोड एक राष्ट्रिय समिति

काठमाडौँ । प्रदेश नम्बर दुईको नाम मधेश प्रदेश कायम भएकोमा जनता समाजवादी पार्टी, नेपालको दस जोड एक राष्ट्रिय समितिले स्वागत गरेको छ । समितिले मधेश प्रदेश नामकरणले मधेश आन्दोलनका सहिदहरूको सम्मान भएको धारणा सार्वजनिक गरेको छ ।

राष्ट्रिय समितिले सार्वजनिक गरेको विज्ञप्ति ।

राष्ट्रिय समितिले एक विज्ञप्ति सार्वजनिक गर्दै आफ्नो पार्टीको नेतृत्वमा नामकरण सम्भव भएको भन्दै मधेश प्रदेश संसदको कदम र निर्णयको स्वागत गरेको छ । संसदको निर्णयले पार्टीले उठाउँदै पहिचानसहितको सङ्घीयताको मर्मअनुरुप मधेश प्रदेश र मुकाम जनकपुर तय गरेको समितिले बताएको छ । ‘मधेश प्रदेशको घोषणाले मधेश प्राप्तिका लागि सहिद भएकाहरूको उच्च सममान व्यक्त गरेको छ । जसको मुद्दा उसको नेतृत्व हुँदा मात्रै राज्य स्थापना गर्न सफल होइने रहेछ भन्ने मार्गनिर्देश गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जसपाले आफ्नो नेतृत्वमा पहिचानको प्रदेश स्थापना गर्न सक्छ भन्ने प्रष्ट प्रमाण पेश गरेको छ । पहिचानवादीहरुमा हौसला, उत्साह र नयाँ आशा पलाएको छ । पहिचानमा आधारित संघीयता सम्भव छ भन्ने देखाएको छ ।’

Advertisement

मधेश प्रदेशको नक्सा ।

विज्ञप्तिमा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम, किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राई, शेर्पालुङ राष्ट्रिय समितिका लाक्पा शेर्पा, मधेश राष्ट्रिय समितिका अध्यक्ष माननीय जयराम यादव, ताम्सालिङ राष्ट्रिय समितिका अध्यक्ष कृष्ण घलान, नेवाः राष्ट्रिय समितिका अध्यक्ष मनरत्न शाक्य, शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका अध्यक्ष दलमर्दन कामी, तमुवान राष्ट्रिय समितिका अध्यक्ष हुम गुरुङ, मगरात राष्ट्रिय समितिका अध्यक्ष माननीय पुर्सती डेँगा मगर, थरुहट राष्ट्रिय समितिका अध्यक्ष हरिलाल चौधरी र खसान राष्ट्रिय समितिका इञ्चार्ज राजन केसीले हस्ताक्षर गरेका छन् ।

प्रदेश नम्बर दुईको संसदले गत माघ ३ गते दुई तिहाई बहुमतबाट प्रदेशको नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुर राख्ने निर्णय गरेको थियो । सोमबार बसेको प्रदेश सभा बैठकमा भएको मतदानमा सहभागी ९९ सांसदमध्ये ८० जनाले पक्षमा मतदान गरेका थिए । सरकारको नेतृत्व गरिरहेको जसपा र विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले संयुक्त रूपमा मधेश प्रस्ताव गरेका थिए । यसअघि, चैत २०७६ मा मतदान भए पनि प्रदेशको नामकरण हुन सकेको थिएन । हाल मधेश प्रदेशमा जसपाका कार्यकारिणी नेता मोहम्मद लालबाबु राउत मुख्यमन्त्री रहेका छन् ।

सात प्रदेशमध्ये अब प्रदेश नम्बर एकको नाम मात्रै अनिर्णीत छ । ९३ जना सांसदहरु रहेको संसदमा नेकपा एमालेबाट ४१ ज्ना, नेपाली काँग्रेसबाट १६ जना, नेकपा माओवादी केन्द्रबाट १६ जना, नेकपा समाजवादीबाट १० जना, जसपाबाट ३ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जना र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक जना सदस्य रहेका छन् । माओवादी केन्द्रबाट निर्वाचित एक सदस्य पद रिक्त भई हाल ९२ जना सदस्य रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश नम्बरको प्रस्तावित नामहरूमध्ये लिम्बुवान किरात, किरात, कोशी किरात, कोशी, सगरमाथा, विराट प्रदेश लगायतका नामहरू चर्चामा छन् ।