March 26, 2024, Tuesday
२०८० चैत्र १३, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘मधेश प्रदेश स्थापना पहिचानविरोधीहरुलाई प्रहार हो’ – जसपा नेता सुमन

‘मधेश प्रदेश स्थापना पहिचानविरोधीहरुलाई प्रहार हो’ – जसपा नेता सुमन

विजयपुर । प्रदेश नम्बर दुईलाई मधेश प्रदेश नामकरण गरेर पहिचानविरोधीहरूलाई गतिलो प्रहार गरेको जनता समाजवादी पार्टीका नेता मनिष सुमनले बताएका छन् । पार्टीका कार्यकारिणी नेता सुमनले अब अन्य प्रदेशहरूले पनि पहिचानका आधारामा नाम राख्न संघर्ष चर्काउनुपर्ने धारणा राखेका छन् ।

जसपा, लिम्बुवान राष्ट्रिय समितिले आयोजना गरेको लिम्बुवान भर्चुअल संवादको ३१ औँ श्रङ्खलामा बोल्दै मधेश प्रदेशको सांसद समेत रहेका सुमनले मधेश आन्दोलनको मर्म भावनालाई सम्बोधन गर्दै सहिदहरुको बलिदानलाई सम्मान गर्न मधेश लेखिएको बताए । ‘०७२ को संविधान लेख्दै गर्दा चार मठाधीशहरूले पहिचानलाई लत्याएर सात प्रदेश लेखाएका थिए । हामीले अन्ततगोत्वा त्यसलाई उल्टाउँदै मधेश कायम गर्न सफल भयौँ,’ उनले भने, ‘अब संविधान संशोधन गरेर पहिचानका आधारमा प्रदेश स्थापना र सीमांकन मिलाउनुपर्छ । अन्य प्रदेशहरुको नाम पनि ऐतिहासिक पहिचानका आधारमा हुनुपर्छ ।’

Advertisement

सप्तरी–२ बाट संसदमा निर्वाचित भएका नेता सुमनले मदन परियारको नेतृत्वमा बनेको उच्चस्तरीय राज्य पुनःसंरचना आयोगका आधारमा कम्तीमा नेपालमा दश प्रदेश र एक गैरभाैगाेलिक प्रदेश स्थापना गर्दै सीमांकन पनि सोहीअनुसार हुनुपर्ने जिकिर गरे । ‘राज्य पुनःसंरचना आयोगको प्रतिवदेनका आधारमा प्रदेश र सीमा मिलाए सबैलाई मान्य हुन्छ,’ उनले भने । यसैगरी, उनले मिथिला, भोजपुरा, अवध, बज्जिका लगायतका भाषिक साँस्कृतिक विविधतालाई पनि मधेश प्रदेशले सम्बोधन गर्ने भन्दै सबैलाई संशकित नहुन आग्रह गरे । ‘वीरगञ्जका मान्छेलाई मिथिला राख्दा अप्ठ्यारो हुने, सप्तरीकालाई अवध राख्दा गाह्रो, रौतहटलाई पनि त्यसैगरी असहज । यसकारण सबैलाई सम्बोधन गर्न मधेश प्रदेश स्थापना गर्दा सबैलाई समेट्न सहज भएको हो । फेरि, मधेश आन्दोलनका नाममा यी सबै जिल्लाहरुमा आन्दोलन पनि भएको छ ।’ उनले प्रदेश नम्बर एक लिम्बुवान किरात या लिम्बुवान राख्न पार्टीमा कुनै अप्ठ्यारो नरहेको समेत प्रष्ट पारे । दुई नम्बर प्रदेशमा गत माघ ३ गते संसदको दुई तिहाई बहुमतले प्रदेशको नाम मधेश र स्थायी राजधानी जनकपुर राखेका थिए ।

लिम्बुवान भर्चुअल संवादमा सहभागीहरू ।

पाँच दर्जन बढी नेता कार्यकताहरु सहभागी भएको भर्चुअल संवादको जसपा, लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमको अध्यक्षतामा र मुख्य सचिव केदार धिमालको सञ्चालनमा भएको थियो ।