April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘लिम्बुवान, किरात जनान्दोलनको जनादेश हो’ – राजनीतिक विश्लेषक बराल

‘लिम्बुवान, किरात जनान्दोलनको जनादेश हो’ – राजनीतिक विश्लेषक बराल

विजयपुर । प्रदेश नम्बर एकको नामाकरण गर्दा जनान्दोलनको जनादेशलाई ख्याल राख्दै ‘लिम्बुवान, किरात’ नाम राखेर अघि बढ्नुपर्ने राजनीतिक विश्लेषक एवम् वरिष्ठ पत्रकार भवानी बरालले बताएका छन् । उनले लामो राजनीतिक आन्दोलन भएका कारण पनि पूर्वको प्रदेश बनाउँदा लिम्बुवान र किरातलाई सँगसँगै समेटेर जानुपर्ने जनाए ।

जसपा, लिम्बुवान राष्ट्रिय समितिले आयोजना गरेको लिम्बुवान भर्चुअल संवादको ३४ औँ श्रङ्खलामा बोल्दै राजनीतिक आन्दोलनको व्यवस्थापनका लागि भए पनि लिम्बुवान किरात प्रदेश बनाउनुपर्ने बताए । ‘इतिहास, पहिचान र अधिकारको आधारमा प्रदेशको नाम लिम्बुवान, किरात या किरात, लिम्बुवान हुनुपर्छ । पूर्वमा सबैभन्दा पेचिलो आन्दोलन भनेकै लिम्बुवानले चर्काएको थियो । यसकारण पनि लिम्बुवान छुट्नुहुन्न,’ उनले भने, ‘लिम्बवान आन्दोलनले राजनीतिक मान्यता पाएको छ । यसले आंशिक संवैधानिक एवम् कानूनी मान्यता पनि पाएको छ । राज्यले पटकपटक लिम्बुवान आन्दोलनकारीसँग सम्झौता पनि गरेको छ । यसकारण निकट विगतका आधारमा लिम्बुवानलाई सम्बोधन गर्नुपर्छ ।’

Advertisement

लिम्बुवान भर्चुअल संवादको ३४ औँ श्रङ्खलामा सहभागीहरु ।

उनले मधेश आन्दोलन अग्रगामी आन्दोलनको दिशामा गइसकेको हुनाले अब प्रदेश एकले पनि पहिचानका आधारमा लिम्बुवान र किरात आन्दोलनलाई समायोजन गरेर जानुपर्ने बताए । ‘मधेशका जनताले आन्दोलन चर्काएर र राजनीतिक रूपमा व्यवस्थापन गरेर मधेश प्रदेश बनाएर अग्रगामी दिशातर्फ अघि बढाएका छन् । अब प्रदेश एकल समेत लिम्बुवान, किरात प्रदेशलाई आधार मानेर नामाकरण गर्नुपर्छ,’ बरालले थपे, ‘लिम्बुवान आन्दोलनले निरन्तरता लिइरहे पनि अरू आन्दोलन पनि नभएका होइनन् । किरात माओवादी जनयुद्धको एजेन्डा पनि थियो । ०५८ मा किरात गणराज्य र जनसरकार बनाएर पार्टीले युद्ध पनि लडेको थियो । तर, पछि यो सुषुप्त भएको मात्रै हो ।’ उनले प्रदेशको हिउँदे अधिवेशनले नामाकरण गर्न नसके नामलाई यथावत् राखेर आगामी निर्वाचनबाट नामाकरणको मतादेश र जनादेश लिएर नामाकरणको मुद्दा टुंगो लगाउनुपर्ने सुझाव दिए । उनले दुई तिहाई बहुमत गठबन्धन दल र विपक्षी दलहरू कसैसँग पनि नभएको कारण प्रदेशको नाम राख्न गणितीय हिसाबले अप्ठ्यारो रहेको बताए । उनले पार्टीले उठाएको आठौँ प्रदेश लिम्बुवान बनाउने र दश जोड एक प्रदेश निर्माण गर्ने राजनीतिक लाइन अत्यन्तै जायज र उपयुक्त भएको समेत बताए ।

संवादमा लिम्बुवान राष्ट्रिय समितिका सदस्य नानीमाया धिमालले प्रदेशको नाम लिम्बुवान कायम गरेर त्यसअन्तर्गत धिमाल स्वायत्त क्षेत्र स्थापना गरिनुपर्ने बताइन् । उनले तराईको आदिम समुदाय धिमाल भएको कारण पनि स्वायत्तताका लािग आफूहरू लागिपरेको जनाइन् ।


देश विदेशबाट पार्टीका नेता कार्यकर्ताहरू सहभागी भएको भर्चुअल संवाद जसपा, लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमको अध्यक्षतामा र मुख्य सचिव केदार धिमालको सञ्चालनमा भएको थियो ।