April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘स्थानीय निर्वाचनबाट पार्टी स्थितिमा सुधार हुनेछ’ – जसपा नेतृ श्रेष्ठ

‘स्थानीय निर्वाचनबाट पार्टी स्थितिमा सुधार हुनेछ’ – जसपा नेतृ श्रेष्ठ

विजयपुर । जनता समाजवादी पार्टी कमजोर नभएर स्थानीय निर्वाचनका माध्यमबाट अझ जनतासमक्ष स्थापित हुने पार्टीकी केन्द्रीय नेतृ सु्शीला श्रेष्ठले दाबी गरेकी छिन् । उनले ०७४ को चुनावभन्दा अझ धेरै स्थानीय निकायमा सिट जित्नेमा आफू ढुक्क रहेको बताइन् ।

जसपा, लिम्बुवान राष्ट्रिय समितिले नियमित रूपमा आयोजना गरिरहेको साप्ताहिक लिम्बुवान संवाद श्रङ्खलाको ३९ औँ भागमा बोल्दै केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेकी श्रेष्ठले स्थानीय चुनावमा पार्टीले आफ्नो स्थिति अझै बलियो बनाउने बताइन् । ‘पार्टीले कांग्रेस, एमाले, माओवादी लगायतसँग प्रतिस्पर्धा मात्रै होइन केही ठाउँमा चुनाव समेत जित्नेछ । गठबन्धन भएपनि बलियो पकड रहेको क्षेत्रमा पार्टीले आफ्नै बलम चुनाव जित्नेछ,’ उनले भनिन्, ‘हामी सबैखाले शक्ति प्रयोग गरेर भएपनि स्थानीय निर्वाचनलाई पार्टीको आधार बलियो बनाउने अवसरका रुपमा सदुपयोग गर्नेछौँ ।’

Advertisement

नेतृ श्रेष्ठले पार्टीमा महिलाहरूको पनि समान र बराबर उम्मेदवारी चयनका सवालमा पार्टीमा आफूले कुरा उठाउने आश्वासन दिइन् । ‘समावेशीकरण सिद्धान्त अंगाल्ने पार्टी भएको कारण आसन्न निर्वाचनमा जनजाति, दलित(शिल्पी), मधेशी, खस आर्य र अल्पसंख्यक महिलाको प्रतिनिधित्व सुनिश्चित गराउन पार्टी नेतृत्वमा पु¥याउने कामसँगै महत्वपूर्ण चुनावमा स्थानीय तहबाटै उम्मेदवारका रुपमा खडा गराउन पहल गरिरहनेछ ।’ पार्टीले गठबन्धनको सरकारबाट स्वशासन र स्वायत्तताबारे विध्येयक ल्याउन लागिरहेकोले पनि स्थानीय तहलाई कम नआँक्न भन्दै संघीयता, सुशासन र पहिचानका मुद्दालाई थप सुदृढ गर्नुपर्नेमा जोड दिइन् ।

उनले निर्वाचनमा उच्च मनोबलका साथ चुनावमा उत्रिन समेत नेता कार्यकर्ताहरूलाई आग्रह गरिन् । ‘हाम्रो पार्टी वैकल्पिक राष्ट्रिय पार्टी हो । समग्र उत्पीडनको अन्त्यका लागि स्थापित भएको संगठन हो । न्याय र समानतामा विश्वास गर्ने शक्ति हो । यसकारण उच्च मनोबाल र उर्जा लिएर अघि बढ्नुहोला,’ उनले ढाडस दिँदै भनिन् ।

उनले उम्मेदवारी चयन गर्दा हुने अनैतिक क्रियाकलापहरूलाई अनुगमन गर्नुपर्ने समेत धारणा राखिन् । पार्टीमा सबै समुदाय, वर्ग, लिंग र क्षेत्रको प्रतिनिधित्व गर्ने गरी पार्टीले समावेशी उम्मेदवार खडा गर्ने विश्वास व्यक्त गरिन् । आगमी बैशाख अन्तिम सातामा हुन लागेको स्थानीय निर्वाचनका लागि ६७४३ बढी पदमा प्रतिस्पर्धा हुँदैछ ।

संवादलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य वन्दना थापा ।

त्यसैगरी, पार्टीकी केन्द्रीय सदस्य एवम् बागमती प्रदेश समितिकी उपाध्यक्ष बन्दना सुवेदीले स्थानीय निर्वाचना उम्मेदवार छनोटमा पार्टीले ध्यान दिनुपर्ने र पार्टी एक ढिक्का भएर अघि बढ्नुपर्ने जनाइन् । उनले संगठन बलियो भएको ठाउँमा प्रतिस्पर्धात्मक भएर स्रोत साधनसँगै नेता कार्यकता परिचानलन गर्नुपर्ने र कमजोर भएको ठाउँमा समिति विस्तारका अवसरमा प्रयोग गर्नुपर्ने बताइन् । उनले पार्टी मधेशी, पहाडिया या क्षेत्रीय पार्टी नभएर सबै भूगोल, क्षेत्र, समुदाय र वर्गको साझा र राष्ट्रिय पार्टी भएको भन्दै संगठनमा लागेको आक्षेपहरूको प्रतिवाद गरिन् ।

त्यस्तै, लिरास सचिवालय सदस्य एवम् समाजवादी महिला संघ लिम्बुवानकी सचिव अग्नीमाया मेचेले पार्टीले अल्पसंख्यक तथा सिमान्तकृत समुदायका नेताहरूलाई नेतृत्व तहमा पु¥याउन थप कसरत गर्नुपर्ने सुझाव दिइन् ।

भर्चुअल संवादमा सहभागी नेता कार्यकताहरु ।

देश र विदेशबाट नेता कार्यकर्ताहरू सहभागी भएको संवाद लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमको अध्यक्षतामा र सचिव नरेन तुम्बा याक्खा तथा सचिवालय सदस्य अजित धिमालले संयुक्त सञ्चालनमा भएको थियो ।