April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पूर्व  गाेरखा सैनिककाे समस्या समाधान चाँडो गर’ – नेपाली समाज

पूर्व गाेरखा सैनिककाे समस्या समाधान चाँडो गर’ – नेपाली समाज

लन्डन । भूतपूर्व ब्रिटिस गाेरखा सैनिकहरूकाे माग चाँडो सम्बाेधन गर्न नेपाल सरकारले पहल गर्नुपर्ने नेपाली समाजले बताएको छ । जनता समाजवादी पार्टीको प्रवास सङ्गठन नेपाल समाज यूकेले वार्ता गर्न विलम्ब भएको भन्दै यथासक्य समस्या समाधानका निम्ति कूटनीतिक पहल थाल्न आग्रह गरेको हाे ।

लन्डनको केन्सिङ्टन प्यालेसस्थित नेपाली दूतावासमा राजदूत ज्ञानचन्द्र आचार्यलाई भेट्दै समाजका नेताहरूले कूटनीतिक पहलकदमी अघि बढाउन माग गरेका छन् । समाजका अध्यक्ष कमल राईले पूर्व गाेरखा सैनिकहरू २१२ वर्षदेखि विभेदमा परेको भन्दै ३२ वर्षको समानता र न्याय प्राप्तिको आन्दोलन निष्कर्षमा पुर्‍याउनु पर्ने भन्दै आफूहरूले दबाब दिएको बताए । ‘पूर्व गाेरखा सैनिकहरूकाे संख्या दिनदिनै घट्दैछ । यथासक्य महामहिम राजदूतले आफ्नो तर्फबाट पहल गरेर समस्या समाधान गर्न अग्रसर हुनुपर्छ,’ उनले भने । समाजले दूतावासमार्फत् नेपाल सरकारलाई ध्यानाकर्षण गराएको अध्यक्ष राईले बताए ।

Advertisement

दूतावासभित्र समाजका नेताहरू ।

यसैगरी, समाजले आफ्नो संगठनलाई दूतावासकाे सूचीमा सूचीकृत गर्न माग गरेको छ । बेलायतको कूटनीतिक, राजनीतिक, व्यापार व्यवसाय, आपत विपतका कार्यक्रमहरूमा सहकार्य र सहयोग गर्न समाज इच्छुक रहेको भन्दै दूतावासलाई सूचीकृत गर्न आग्रह गरेको सचिव मिलनचन्द्र राईले जनाए । समाजका सल्लाहकार, पदाधिकारी र सदस्यहरूकाे टाेलीले राजदूत आचार्य र प्रथम सचिव एवम् प्रवक्ता राेशन खनालसँग भेट गरेका थिए ।

दूतावास भवनअगाडि नेताहरू ।

समाजले बेलायतमा रहेका पहिचानवादी संघसंस्थाहरूबीच प्रशिक्षण एवम् अन्तरक्रिया चलाउने समेत जनाएको छ । त्यस्तै, नयाँ पुस्तालाई माैलिक नेपाली सँस्कृति, भाषा, संस्कारबारे जानकारी दिन छलफल र कार्यशाला आयाेजना गर्ने याेजना बनाएको छ । बुद्धिजीवी, अभियन्ता र संघसंस्थाका अगुवाहरूबीच अन्तरक्रिया गरेर कार्यदल बनाउने र सूचना प्रवाह गर्न एक सूचना केन्द्र स्थापना गर्ने लक्ष्य लिएको छ । समाजले आर्थिक क्रान्तिका लागि व्यापारी, उद्योगी र दातृ निकायहरूबीच भाइचारा सम्बन्ध स्थापनालाई जाेड दिएको अध्यक्ष राईले जनाए ।

भेटमा केन्द्रीय सदस्य एवम् प्रवास समिति इञ्चार्ज भगवान चाम्लिङ, केन्द्रीय सदस्य टेक बहादुर थापा, सल्लाहकार संयाेजक चन्द्रबहादुर गुुरुङ, पूर्व अध्यक्षहरू धर्म तामाङ र कमल गुरुङ, पूर्व उपाध्यक्ष जङ्ग सुनुवार, केन्द्रीय सहसचिव तेज मावाे लिम्बु, सहकाेषाध्यक्ष धनकाजी गुरुङ, केन्द्रीय सदस्य शुभचन्द्र राई र समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रीय सचिव रामचन्द्र राई उपस्थित थिए ।

नेपाली समाजकाे स्थापना १५ डिसेम्बर २०१९ मा नेपाली सङ्घीय समाज यूके र अन्तर्राष्ट्रिय नेपाली समाज यूकेकाे एकीकरणपश्चात भएको थियाे । गत १३ फेब्रुअरीमा भएको पहिलो महाधिवेशनले कमल राईकाे अध्यक्षतामा ३५ सदस्यीय कार्य समिति निर्वाचित गरेको थियो । आठ वटा विभागहरू रहेको समाजकाे सल्लाहकार समिति, विज्ञ परिषद र राजनीतिक समिति छ । चारवटा क्षेत्रीय समितिहरू गठन भइसकेका छन् । बेलायतबाट तीन केन्द्रीय सदस्य र सङ्घीय परिषदमा दुई जना सदस्यहरू रहेका छन् ।