April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
घाँसी खड्ग ठाडा मगर जयन्तीमा ताप्लेजुङकी शोभा जोशी प्रथम

घाँसी खड्ग ठाडा मगर जयन्तीमा ताप्लेजुङकी शोभा जोशी प्रथम

काठमाडौँ । नेपाली साहित्यमा आदिकवि भनेर चिनिएका भानुभक्त आचार्यलाई पहिचान गराउन महत्वपूर्ण भूमिका खेलेका घाँसी खड्ग मगरलाई स्मरण गरिएको छ । उनको स्मृतिमा दोस्रो घाँसी खड्ग मगर जयन्ती समेत आयोजना गरी खुल्ला कविता प्रतियोगिता आयोजना गरिएको थियो ।

आदिवासी जनजाति साहित्यकार/लेखक महासंघ वेलायतको आयोजनामा अनामनगर स्थित तमु वौद्व सेवा समितिको सभाहलमा भएको खुल्ला कविता वाचन प्रतियोगितामा ताप्लेजुङकी शोभा जोशी प्रथम घोषित भइन् । त्यस्तै, खोटाङकी मञ्जु राई द्वितीय र उदयपुरका टिकाटोली मगर तृतीय भए । त्यस्तै, सञ्जित फलाना र असिम भुसालहरू सान्त्वना घोषित भए ।

Advertisement

विजयी सर्जकहरूसँग अतिथिहरू ।

राष्ट्र गानका रचनाकार एवम् साहित्यकार व्याकुल माइलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विजेताहरूलाई पुरस्कारस्वरूप प्रमाणपत्र र नगद राशी समेत प्रदान गरिएको थियो । पहिलो, दोस्रो र तेस्रोले क्रमशः १०,०००, ७,००० र ५,००० प्राप्त गरेका थिए । त्यस्तै, सान्त्वानाले जनही ३,००० प्राप्त गरेका थिए । प्रमुख अतिथि व्याकुल माइलाले पहिचानको आन्दोलनले आदिवासी समुदायको आवाज केही सुनिन थालेको धारणा राखे । त्यस्तै, प्रतियोगिताका परिकल्पनाकार आदिवासी जनजाति अभियन्ता आङकाजी शेर्पाले भानुभक्त नभएर घाँसी खड्ग ठाडा मगर आदि सर्जक भएको दाबी गरे । उनले भानुभक्तले घाँसी खड्गबाट कविता लेख्न प्रेरणा पाएको भन्दै राज्यसत्तताका कारण आदिवासी समुदायहरू धेरै पीडित भएको भन्दै रोष प्रकट गरे ।

प्रमुख अतिथि राष्ट्र गानका सर्जक व्याकुल माइला ।

साहित्यकार विश्वासदीप तिगेलाको सभापतित्वमा भएको उक्त कार्यक्रमकोे भने सोनाम डोल्मा शेर्पाले सञ्चालन गरेकी थिइन् । तिगेलाले मन्तव्य राख्दै नेपालमा बसोबास गर्ने सबै जाति र समुदायको भाषा र साहित्य राष्ट्रिय र नेपाली साहित्य भएको भन्दै यसबारे प्राज्ञिक हिसाबले बहस छेड्नुपर्ने आवश्यकता भएको औँल्याए । घाँसी खड्ग ठाडा मगर जयन्ती गत वर्षदेखि मनाउन थालिएको आदिवासी जनजाति साहित्यकार÷लेखक महासङ्घ यूके संयोजक अमित थेवेले बताए ।